भाव





ORIGINAL POST- FACEBOOK




आरावाल दाईहरूकाे सम्झनामा..


"ए नि लै लै दाम्लो बाटिन्छ,दाम्लो बाटिन्छ।

यो ज्यान बाचिन्जेल नि लै लै आरा काटिन्छ।"


पहाडमा आरा 

        सपनाहरू को शहर भन्दा पर,सौखहरूको बजारभन्दा पर,धुलाम्मे आकाशको अँध्यारो भन्दा पर धेरै टाढा एउटा सानो गाउँ छ मेराे ।नाम हाे पुछारगाउँ।म अस्ति भर्खर चुसुक्क पुगेर फर्किएँ।


           जहाँ आदिमकाल देखि चलिआएको परम्परा अझै जिवित छ।अैचो-पैँचो चलेकै छ।अर्म-पर्म भैरहेकैछ। सरसापट चल्तिमै छ।जीवित छन ती चिभे चराको चिर्बिर आवाजहरु।धानको बालामा झुम्ने ती ताँबे ढुकुरहरू।आधारातमा कराउने स्यालका हुलहरू।अनि अझै उहि चाल मा छल्किरहेकाछन डल्ले खोला को छालहरू। सायद यी सबैथोक भएर नै गाउँ गाउँ बनेको हो।आउनुहोस हामी उहीँ पुछारगाउँतिर छस्स झरौँ।जहाँ नाडिले आरा र समयले अभिभारा थमाएपछि आजसम्म आरा काटिरहेका एक जाेडि भेटिन्छन्।


सान्जेठा र साँइले 

         सान्जेठा अर्थात सानाे जेठा बुबाले दुई बिहे गरेपछि दाेस्राे आमाकाे तर्फबाट पहिलाे छाेरा अर्थात दाेस्राे जेठा भाषामा मिल्न आईपुग्दा  सान्जेठा बनेका हुन्। सिरानघरे बाजेकाे साँईला छाेरा दलवीर साँईला अपभ्रंस भएर साँईले बनेकाे हाे।


राष्ट्रिय राजनिती नबुझेकाे उनिहरूलाई बहुमत लिनुपनि छैन। अल्पमतमा बस्नु पनि छैन।अविस्वासकाे प्रस्ताव ल्याउनु पनि छ‌ैन। विस्वासकाे मत लिनुपनि छैन।

लिनु छ त एकमुठि दाेहाेराे सास लिनु छ।एकअर्कालाई भराेसा दिनु छ।


       यी जोडी गाउभरिनै आरावाल हलकाे नामले चर्चित छ। करिब 15 बर्ष देखि एउटै हल भएर आरा काटिरहेछन।परिवार धानिरहेछन्।जिवनमा कहिल्यै शहर धरान नपुगेकाे याे जाेडि काठकाे धरानमा ।(काठ काट्ने एक किसिमको टाँड) भने बर्षाैँदेखि बसिरहेछन्।बनाईरहेछन्।भत्काईरहेछन्।

       

       गणित नपढेका उनिहरूले यस्साे एउटा आँखा चिम्लेर सिस हेरेपछि काठकाे बाँङ्गाेपना पत्ता लागिहाल्छ्न् । बित्ताले नापेर भित्ताकाे सतह पत्ता लगाईदिन्छन्। हाँगा काटेर राँगा थाम्ने खम्बा निकाल्छन्। र छाँगाजत्राे उचाई भएकाे धरान बनाउछन्। याे धरानमा फेसन साे हुँदैन फेसा फिट गरिन्छ। याे धरानमा यहाँ लाहुरेहरूले घर बनाउदैनन्।लाहुरेका घर बनाउने काठ भने यहीँ काटिन्छ।


 जीवनशैली 

       धरानको एक कुनामा ढुङ्गाको चुल्हो बनाएर आगो फुक्छन।भात पकाउछन।खानामा मार्सी र कालाे कालाे दाल चाहिन्न।पाउदैनन् ।गुन्द्रुक उमाल्ने,आठाे पिठाे सम्हाल्ने।अनि त्यही सानोतिनो गोठ बनाएर सुत्छन पनि।सुत्न बस्नकाे लागि डराउनुपर्ने भनेकाे ठुलाे पानी पर्ला कि माथिबाट ढुङ्गाे झर्ला भन्नेमात्रै हाे।बाघ आए भिडाैँला स्याल आए गिडाैँला भन्ने हिम्मत अझै मारेका छैनन्।र साथमा हरदम रहने भनेकाे खुकुरी,छुस्..... लाग्ने बन्चरो,झम्पल,आरामा लाउने रेति,काठमा सुत्ता हान्नको लागि बोकिएको पुरानो ट्राइगर ब्याट्री र धागो,गोजिमा गैडाछाप मडुवा खैनी अनि हरेक दिन घरबाट मेलैमा उपलब्ध गराइने एक पाथी काेदाेकाे जाँड मात्रै हो।यति नै उनिहरूकाे आँट हो।भरोसा हो।तागत हो।यिनिहरुकै आडमा उभिएर सरकार बनेकाे ढलेकाे पत्ता नपाए पनि असंख्य रुखहरू ढाल्न सकिरहेका छन्।सयौँ काठको मुढाहरुलाइ उचित आकार दिन सकिरहेका छन्।


 आचरण

          

            घरको तेस्रो सन्तान साइला जस्लाइ साइले नाम नै प्रीय लाग्छ।कसैले ओइ साइला भन्यो भने उनी रिस ले चुर हुन्छन।उसैपनी आरावालहरु अलि फाट्टफुट्ट गाली बोल्ने त भइनै हाल्यो।तर कति सम्म बोल्ने त्यो सिमितता उनिहरुलाइ थाहा छ।साँईलालाई आफू कुन वरियतामा छु। वास्ता छैन। किनकि उस्ले आजसम्म धरान बनाउने क्रममा र आरा तान्ने क्रममा वरियता आवश्यक सम्झेन । बरु यता र उता धेरै गर्याे।काठमा फेसा धेरै ठाेक्याे।तर नहुने हावा गफ कहिल्यै ठाेकेन।


      यता सान्जेठा भने अलिक भावुक छ।आक्कलझुक्कल कागे गितहरु बुन्न सिपालु छ।बेलाबखत गाइपनी हाल्छ।


-"लै लै हो माडेको खैनी को खान्छ।

    उत्तिस को बाकल को लान्छ।"

सान्जेठा माथी बाट र साइले मुनिबाट आरा काट्ने स्थायी जिम्मेवारि नै हुन।त्यो कहिल्यै फेरबदल हुदैन।


 आरा विज्ञान


             उनिहरूले विज्ञान पढेका हैनन्।कारण जान्दैनन्। तर नतिजा कसैले सिकाउनुपर्दैन।  चिलाउनेको काठ निकै कडा हुन्छ।सल्ला को र पात्लेको ठिकै हो।उत्तिस को काठ भने अरुको तुलनामा कमजाेर  हुन्छ ।याे बैज्ञानिक तथ्य उनिहरूले पढेर हैन भाेगेर पत्ता लाएका हुन्।रुख कताबाट काट्दा कता ढल्छ भन्ने विज्ञान उनिहरुले कतै पढेका हैनन्। यो रुखको कति गिँड निस्कन्छ।छड्के आँखा लाएपछि ट्याक्कै!कति पात तखती निस्कन्छ।यसाे बित्ता नापेपछि ठ्याक्कै।उनिहरूलाई यति पत्ता लगाउन कुनै अनुसनधान कमिटी वा कुनै छुट्टै सर्वशक्तिमान आयाेग वा कार्यदल बनाउनु पर्दैन।


 अन्त्यमा

                      बर्षाेैँदेखि जङ्गलबिचमा आरा काटिरहेको उनिहरूकाे चाल परपर बाटनै थाहा पाइन्छ।आराको स्यार्र स्यार्र आवाज र आरावाल हरुको हईँ..हईँकाे...सुशेली सुन्दा लाग्छ हामी कुनै अलाैकिक संगीत सुनिरहेकोछौँ।

          तर

यति सरल जीवन देखिरहेकाे उनिहरूकाे रहस्यकाे पाटाे खुब अलाैकिक छ।आरा तान्दा तान्दा चाउरिएको निधार र ओरालो लागेको आरावाल दाईहरूकाे उमेरले बगाएकाे अमिलाे पसिनाले कुन सागर बन्याे हाेला?वा खाेला? र त्यहाँ अहिले कुन मन्त्रीले माेटर पुल उद्घाटन गर्दैहाेला?


उनिहरूले गाएकाे शुसेली संगित कहाँ गएर अड्किराखेकाे हाेला ? 


उहाँहरु नभए यो गाउका घरहरू कसरी बन्थे होलान .?


आरा माथिबाट काट्दा कि मुनिबाट काट्दा बढी गलिन्छ होला?

धरान बनाउने प्रथम ब्याक्ती को होला .? 

आराकाे निर्माणकर्ता काे हाेलान?

काठमा सुत्ता हान्ने नियम कस्ले पत्ता लगाएका हाेलान्?

मुढालाई फेसा हाल्ने चलन कस्ले चलाएका हाेलान??

रूख काटेर काठ किन बनेकाे हाेला?

जीवनभर ईमान्दार बनेर अरूकाे लागि आरा काटिरहेकाे याे जाेडिले आफ्नाे दुख किन काटेन हाेला?

र जहाँ काठ छैन,कंक्रिटमात्रै छ त्यसलाई काठमाण्डु किन भनिएकाे हाेला???


अनि काठकै कुरालाई लेख्न किन काठमाडौंनै आईपुगेँ हाेला???

००००


"ए नि लै लै धानैको खेती।

78 सालको है सम्झना एति......!


धन्यवाद।

सम्पादक-शुभचन्द्र राई।


भाब लेखक-कवि राई।

😜

Comments