के केटी-मान्छे एक्लै बस्न हुन्न र?
पवित्रा घिमिरे (कालू)
“हरे! तिमी एक्लै बस्छौ? तिमी एक्लै पो हो बस्ने? हे भगवान ऊ त एक्लै पो बस्छे रे? कसरी सकेको होला बस्न? ऊ एक्लै बस्ने भएर पो बिन्दास पाराले हिड्छे। उसलाई त क्या आनन्द; खायाे, हिँड्यो, डुल्यो, बस्यो, न कुनै जिम्मेवारी, न केही? कस्तो आन्नन्दको जीवन? घरको मान्छेले कसरी सकेको होलान है त्यसरी एक्लै बस्न दिन? त्यो केटी ठीक छैन है, एक्लै बस्छे? ऊ एक्लै बस्ने भएर होला, ऊ कैले नि हतारिन्न। यसरी एक्लै बस्ने केटीहरुको भर नै हुन्न। कस्तो इज्जत नभाको केटी होला एक्लै बस्न सकेको?”
तर छोरा मान्छे एक्लै बस्छ भने यस्तो भनिन्छ; “हरे के गरी खाला? भोकै सुत्छ होला? कसले लुगा धोइदिन्छ, उसलाई त केही गर्न नि आउँदैन, कसरी बस्ला? बिचरा! कती गाह्रो है? बरु बैनिलाई लिएर बस, कि कोही साथीहरुसँग बस। एक्लै बसेर होला बिचरा कस्तो दुब्लाएछ। यसको त ठूलो बिजोक भयो। बरु बिहे गर छिटो अनी आनन्द हुन्छ।” किन यसरी विभेद हुन्छ केटा मान्छे र केटी मान्छेमा? किन केटा मान्छे एक्लै बस्दा पूरै दया, मायाको दृष्टिले हेरिन्छ तर त्यही ठाउँमा केटी मान्छे एक्लै बस्दा नानाभाँती शंका -उपशंका गरेर चरित्रमाथि दाग लगाइन्छ। केटी मान्छेलाई किन सहज रुपमा बाँच्न दिँदैन हाम्रो नेपाली समाजले? के केटी मान्छे एक्लै बस्दा कुनै जिम्मेवारी नै हुँदैन त? किन चरित्र हत्या नै गरिन्छ त? मान्छेले आफू अनुरुप र आफ्नो अनुकुलता अनुसार बाँच्न पाउनु जन्मसिद्ध अधिकार होइन र? एक्लै हुनु, एक्लै बाँच्नु मान्छेको ठूलो स्वतन्त्राता हाे र त्यो स्वतन्त्रतालाई जोगाउन सक्नु जिम्मेवेरी होइन र?
समिक्षा छेत्री (नाम परिवर्तन) मन्डिखाटारमा कुनै एउटा घरमा एक्लै बस्छिन्। उनी अध्ययनको शिलशिलामा बसेकी हुन्। कुनै बेला उनिसँग मेरो भेट भएको थियो। भेट्मा उनले मलाई बाताइन् कि "हेर साथी एक्लै बस्न नहुने रैछ यो समाजमा सबले शङ्का गर्ने। म पैला -पैला त एक्लै बस्छु भन्थेँ कुनै पनि कुरा नढाँटीकन, सबले शङ्का गरे अनि आजकाल त भन्दिनँ, साथीहरुसँग बस्छु भन्छु अती हेप्ने, अनि फाईदा लिन खोज्ने केटीहरु एक्लै बस्ने भनेपछी" उनको यो कुरा सुन्दा मलाई झनक्क रिस उठेर आयो? हामी कुन खालको समाजमा छौँ? किन यस्तो घटिया सोच पालिएको छ मान्छेको दिमागमा? के अध्ययनको शिलशिलामा कुनै केटी मान्छे एक्लै बस्दा त्यहाँ के नराम्रो हुन्छ? के खराबी छ त? उसले कसकाे के बिगारेको छ त एक्लै बसेर? उसकाे घरबाट छुटेर एक्लै बस्नु बाध्यता हो। अनि अरुले के भन्छ भनेर कसको साथी खोज्नु त? अरुको घटिया सोचको कारणले आफ्नो अध्ययन नै रोक्ने त? जीवन नै अगाडि नबढाउने त?
क्रिपा कार्की (नाम परिवर्तन) वानेश्वरमा एक्लै बस्छिन्। उनी पैला अध्ययन तथा जागिर दुबै कार्य एकैसाथ गर्थिन् भने ऐले उनको फर्निचर पसल छ। त्यो पसल उनको आफ्नै लगानीमा खोलिएको हो। बेला-बेलामा मेरो उनिसँग भेट हुन्छ। हामी केहीबेर बसेर बात मार्छौँ, चिया पिउँदै। उनी खुशी छिन् आफ्नो जीवनसँग, आफ्नो चलिरहेको जीवनसँग। तर उनको एउटै गुनासो हुन्छ, एक्लै बस्दा झेल्नु परेको पीडा र भोग्नु परेको लान्छनाको। उनी भन्छिन् सधैँ अरुले हेप्ने एक्लै बस्ने भनेर। गाउँबाट कसैले फोन गर्छ भन्छ, म आज तिम्रोमा आउँछु है, अनि उनिले भन्छिन् रे म एक्लै छु अलीि अपठ्यारो हुन्छ नि, अनि जवाफ आउँछ रे केभो त झन एक्लै छौ भनेर त आउन लाको नत्र को आउँथ्यो? अनि कसैले कुरा गर्छ उनी ऐले जान्छु ल भन्दा भन्छन् : किन हतार? केको हतार तिमीलाई? के छ रे बित्दाे तिमीलाई? एक्लै त छौ, कोले तिमीलाई गाली गर्छ र? कसैले बोलाँउदा: आज भ्याउदिनँ भन्दा जवाफ आउँछ किन नभ्याउनु? के छ तिम्रो त्यस्तो काम? कोले के गर्छ र तिमीलाई कोले रोक्छ र? तिमी एक्लै बस्ने होइन र? यस्ता कुराले उनलाई धेरै पिरोल्छ, नरमाइलो महसुस हुन्छ। घरी-घरी मन दु:ख्छ। आखिर किन हुन्छ यस्तो?के एक्लै बस्ने केटीको आफुप्रती कुनै जिम्मेवारी नै हुँदैन त? के केटी मान्छे विविध वाध्यताले गर्दा एक्लै बस्नु कुनै अपराध हो र? कुनै पाप हो त? एक्लै बस्दा मान्छे पूर्णरुपमा निस्फिक्री हुन्छ त? किन यसरी केटी मान्छेलाई एक्लै बस्दा नचाहिने दृष्टिकोणले हेरिन्छ? आखिर के होत यस पछाडिको कारण? हाम्रो नेपाली समाजको सीर्जना नै त्यस्तै हो त? हामी कुन समाजको निर्माण गरिरहेका छौँ जहाँ केटी मान्छे एक्लै बस्न नहुने?
श्रीजना खत्री (नाम परिवर्तन) उनी चावाहिल अबस्थित कुनै घरमा एक्लै बस्छिन। उनको पनि एक्लै बस्दाको निकै तितो अनुभव छ। उनका अनुसार उनले जागिरको लागि अन्तरवार्ताको क्रममा धेरै सोधिने प्रश्नमा तपाईं कहाँ बस्नुहुन्छ?, कोसँग बस्नुहुन्छ? अनी उनको सिधा जवाफ दिने बानी छ। सब कुरा जेहो त्यही बताउँछिन। जसका कारण उनले नभाको लान्छाना झेल्नु पर्यो। कती ठाउँमा अन्तवार्ताको क्रममा अन्तर्वाताकारले जिब्रो टोक्ने हरे! एक्लै पो बस्नुहुन्छ। अनि कती सहकर्मि साथीहरुले पनि एक्लै बस्ने भनेर अर्कै नजरले हेप्ने, अफिसबाट समयमा घर जान खोज्दा एक्लो मान्छे किन अातिएको, के छ र काम? कोले गाली गर्छ र तिमीलाई ढिलो घर जाँदा? कुनै समाय अफिसमा मीटिङ हुँदा उनी बस्थिन् र प्रसँग चल्छ एक्लै छ उसलाई केको समस्या छ र? घरमा निगरानी गर्ने मान्छे भए पो उसलाई डर? निस्फक्री मान्छे ऊ। अनि अफिसले दिएको काम समयमा सम्पन्न गर्दा नि उल्टै शङ्का: “उसको पो केही काम छैन अरु, जे गरे नि भयो जसो गरे नि भयो, अनि गर्छे नि अफिसको काम घर लगेर।” उनी सधैँ अफिसमा उपस्थित हुन्छिन, धेरै महत्वपूर्ण काम छ र उनी आफैँले गर्नुपर्ने काम छ भने मात्र छुट्टी लिन्छिन्। र उनको दैनिक हाजिरीलाई लिएर नि अनेक तवरले विश्लेषण गरिन्छ। उसको के काम छ र अब्सेन्ट बस्न? के हुन्छ र एक्लो मान्छेको? यदी बिदामा बसिन भनेनी कुरा आउँछ रे कतै गाको होलानी केटासँग घुम्न। घरमा काम भए पो गाह्रो हुन्थ्यो।
वास्तवमा यि सब कुराहरु कती हास्यास्पद र लजास्पद छन्। हामी कुन समाजमा बचिरहेका छौँ? धेरै मान्छेसँग बस्ने मान्छेको मात्र खपिनसक्नु काम हुन्छ र एक्लै बस्ने मान्छेको कुनै काम नै हुँदैन? उसको सब कुरा, सब कार्य आफैँ सम्पन्न्न हुन्छ त कुनै एफ्फोर्ट्नै नलगाई? भगवानले चमत्कार गरेर सबै काम स्वत: -स्फुर्त हुन्छ त? आफ्नो कामप्रति इमान्दार र कर्मशिल हुनु कुन गलत कुरा हो? यो त सिक्नु पर्ने कुरा होइन र? के समूहमा बस्ने बितिक्कै सबै कुरामा पछाडि पर्नु हो र? अनि एक्लै बसेर , आफ्नो सम्पूर्ण कार्य आफै गरेर कार्यालयमा इमान्दारिता देखाउनुमा कुन खराबी छ? म भन्छु खराबी त आफ्नो जिम्मेवारी राम्रोसँग गर्न नसक्ने र अरुलाई नकारात्माक ढंगले हेर्ने घटिया सोच भएका मान्छेहरुमा छ। हो यस्तै सोच भएका मान्छेहरुले गर्दा नेपाली समाज विकास हुन नसकेको हो। कैले अन्त्य हुन्छ यस्ता नकारात्मक सोचको? हामीले समाजलाई सम्वृद्धि बनाउनको साटो अधोगतीतिर धकेलिरहेको छौ। मान्छेलाई स्वतन्त्रपूर्वक बाँच्ने उसको नैसर्गिक अधिकार होइन र? कुनैपनी मान्छे अाफुलाइ सहिरुपमा ब्यवस्थापन गरेर आफ्नो जीवनलाई सहि ढंगले, आफूअनुसार अगाडि बढाइरहेको छ भने अरुलाई किन त्यती ठुलो आपत्ति?
अनुपा शर्मा (नाम परिवर्तन) केही समय अगाडि उनी आफ्नो दाई भाउजुसँग बस्थिन्। दाजुभाउजुसँगको दैनिक मनमुटाव, कलह र झै -झगडाका कारणले उनलाई सधैँ पिरोलिरह्यो। उनी आफ्नो काम तथा आध्यनमा केन्द्रित हुन सकिनन्। नत उनको पढाई नै राम्रो थियो नत अफिसमा राम्रोसँग काम नै गर्न सक्थिन। उनी मानसिक रुपमा अती विचलित भएकी थिइन्। उनले आफ्नो कुरा अरु परिवारका सददस्यमाझ पनि राखिन् तर सबैले उनलाई दोसष लगाइयो: तैँ खराब छस्, न खुरुक्क दाइ भाउजुसँग बस्। छोरी मान्छे भएर एक्लै बस्ने कुरा गर्छेस्। भोली समाजले के भन्छ तँलाई? यस्ता कुराले उनलाई झन् मानसिक रुपमा विचलन ल्याइदियो। अती भएपछी एकदिन उनले दाजु भाउजुबाट छुट्टीएर अलग्गै बस्ने निर्णय गरिन। उनी काम पनि गर्थिन र उनलाई आर्थिक रुपमा त्यती ठुलो समस्या भने थिएन। उनले सबकुरा आँफैले ब्यवस्था गरेर एक्लै बस्न थालिन्। उनी मानसिक रुपमा पूर्ण स्वास्थ र स्वतन्त्र महसुस गर्न थालिन। तर बिस्तारै उनले समाज तथा आफ्नै घर- परिवारको नकारात्मक टिका- टिपणि झेल्नु पर्यो। धेरै मान्छेले उनलाई आफ्नै ढंगले व्याख्या विश्लेषण गर्न थाले। कसैले भने: कस्ती खत्तम केटी होला एक्लै बस्न सकेकी? यसको चरित्र ठीक छैन है, एक्लै बस्छे, यसको कुनै भर छैन है दाजु भाउजुसँग बस्न नसकेर एक्लै बस्छे। कतिले भन्ने: “खुब केटाहरुसँग कुरा गर्न, मोज मस्ती गर्न एक्लै बसेकी होली, एक्लै बस्ने मान्छे नि राम्रो हुन्छ। उनी भन्छिन् आफ्नै घर -परिवारले उनलाई बुझ्न नसक्नु जस्तो अप्ठ्यारो समस्या अरु के हुनसक्छ र। अनि केटा मान्छेहरुले नि उनलाई अर्कै गिद्दे दृष्टिले हेर्ने, एक्लै छ भनेर बेला न कुबेला फोन गर्ने, जिस्किने, जे पायो त्यहि बोल्ने। उनी ठुलो फसादमा थिइन् , कसैलाई सुनाऊँ उल्टै शङ्का गर्ने र उल्टै उनलाई दोष लागाउने। आफैँ समना गर्न उनलाई ठूलो चुनौती पर्यो। तर बिस्तारै उनले आफुलाइ बलियो बनाउँदै गइन। आफ्नो धेरैजसो समय अध्ययनमा बिताउन थालिन् र कसैको नकारात्मक कुराले आफुलाइ दु:खी बनाइनन्। बरु झन वैचारिक रुपमा बलियो हुँदै गइन्। उनले आफ्नो स्वतन्त्रतालाई भरपुर उपयोग गरेर आफूलाइ उच्च स्थानमा पुर्याइन। पछि त्यही समाजले उनको तारिफ गरिरहेकोछ। हाम्रो समाज कती अबुझ र अजिव सोचले भरिएका मानिसहरुद्वारा निर्मित छ। मान्छेलाई कुनै तथ्य तथा कारण बिना अनेक आरोप लगाइदिन्छ। केटी मान्छेलाई कती असहज बनाइदिन्छ। आखिर समाज त सर्वश्रेष्ठ प्राणीद्वारा निर्मित होइन र ? खै त सर्वश्रेष्ठता? कहाँ बिलिन भयो?
अब केटा मान्छेको उदाहरण लियौँ: अमृत आचार्य (नाम परिवर्तन) सिनामंगलमा एक्लै बस्छन। उनी सधैं सुनाउछन कि उनको घरबाट दिनमा धेरै पटक फोन आउँछ के खायो कसो गर्याे? एक्लै छ खाने हो कि होइन , पकाउन आउँदैन, केही काम गर्दैन जस्ता अनेकौँ कुराहरुले छोरा मान्छेप्रती दया मायाको दृष्टिले हेरिन्छ। अनि उसलाई कसैले पनि उसलाई चरित्रमाथी औंला थड्याउने कोशिस नै गर्दै बरु सधैँ दयाको दृष्टिले हेरिन्छ। उसलाई कसैले पनि किन एक्लै बसेको भन्ने प्रश्न नै गर्दैन बरु दयालु भावना ब्यक्त गरिन्छ। यस्तो छ हाम्रो नेपाली समाजको सोच।
मानिस एउटा स्वतन्त्र प्राणी हो। स्वतन्त्रतापूर्वक बाँच्न पाउनु मानिसको जन्मसिद्ध अधिकार हो। चाहे केटा मान्छे होस् वा केटी मान्छे होस् जोसुकै होस् स्वतन्त्रता पूर्वक बाँच्ने उसको आफ्नो इच्छा हो। विकसित मुलुकहरुमा एक्लै बस्नु उनिहरुको वाध्यता हुन्छ। को कहाँ बस्छ, के गर्छ, कसैलाई कुनै सरोकारको विषय नै हुँदैन। जसरी भएपनी कुनैपनी हालतमा आफ्नो करीअर बनाउने जिम्मा ब्यक्ती स्वयमको हातमा हुन्छ। कहाँबाट आयौ, कोसँग बस्छौ, के गर्छौ भनेर सोध्ने आँट नै गर्दैन। तर हाम्रो देश नेपालमा चाँही किन यती ठूलो समस्या छ मानिसको सोचसँग?
हामीले देखिरहेको हुन्छौँ: हाम्रो देशमा विदेशबाट भ्रमण गर्न आउने पर्यटकहरु जो एक्लै घुमीरहेका हुन्छन्। केही समय अगाडि मेरो विदेशि केटीहरुसँग भेट भएको थियो। हल्का वार्तालाप गर्दा उनिहरुको कुरा सुन्दा म पूरै चकित भएको थिए। कती जनाको परिवारसँग भेट नभएको बर्षाै भएको रहेछ, कतिको परिवारसँग सम्पर्क नै भएको रहेनछ। उनिहरु आफ्नो पढाई, लेखाइ, करीअर निर्माण तथा भ्रमणमा ब्यस्त छन। उनिहरुले कुनैपनि सामाजिक लान्छना झेल्नु परेको छैन। किनकी सबै मान्छे आफ्नो-आफ्नो काम र जीवनमा ब्यस्त हुन्छन्। कसैको ब्यक्तिगत जीवनमा प्रवेश गरेर चियो-चर्चा गरेर कुरा काट्ने समय नै छैन त्यहाँका मानिसहरुसँग। कति सभ्य छ विदेशि समाज। देश त्यसै विकास भएको होइन, मान्छेको सोचले गर्दा नि विकास भएको हो। हाम्रो देश नेपाल सोचको कारणले धेरै हदसम्म पछाडि परेको छ।
केही कुराहरुमा परिवर्तन आएसँगै मानिसको ज्यूने शैलीमा केही हदसम्म परिवर्तन आएको देखिन्छ। नेपाली समाजमा सेलिब्रेटीहरु भने आफ्नो स्वतन्त्रताको लागि परिवारसँग छुट्टीएर एक्लै बस्ने गरेको पाईन्छ। तर यो एकदम दुर्लव रुपमा रहेको छ। देशमा धेरै समस्याहरु रहेका छन: बेरोजगारी, अवसरको खोजी तथा उच्च शिक्षाको लागि धेरै नेपाली युवाहरु विदेशिने गरेको छन्। विदेशमा गएपछि एक्लै बस्नु पर्ने वाध्यता नै पर्छ चाहे केटा होस् वा केटी होस्। तर यस्तो अवस्थामा भने कुनै तर्क-बितर्क गरेको पाइँदैन। कतिपय केसमा चाँही यदा- कदा बहेको सुनिन्छ: छोरी मान्छेलाई एक्लै गाह्रो हुन्छ बिदेशमा, बिहे गरेर जाउ। अनि जस्तो कन्डिसनलाई स्विकारेर छोरीको बिहे गरेर पठाउने गरेको पाईन्छ। तर त्यही ठाउँमा छोरा मान्छेलाई चाँही गाह्रो नहुने रे? के छोरा मान्छे चाँही कुनै रोबोर्ट होर? गाह्रो नहुने, अप्ठ्यारो नहुने कहाँ लेखिएको छ त्यस्तो कुरा? बरु छोरा मान्छेलाई कसरी खाना बनाएर खाला, के गरेर आफ्नो काम आफै गर्ला जस्ता दयाका भावले हेरिन्छ। आखिर किन यस्तो सोच पालिरहेका छौँ त हामी? कैले सुधारने त त्यस्तो सोच?
यसरी माथिका सबै उदाहरणहरुबाट के प्रस्ट हुन्छ भने नेपाली समाजमा केटी मान्छेलाई एक्लै जीवन ज्युन धेरै गाह्रो छ। यो गाह्रो अरु कुनै कारणले गर्दा नभएर मान्छेको सोचको कारणले गर्दा भएको हो। छोरा मान्छे जसरी बस्दा नि कुनै समस्या नहुने नेपाली समाजलाई छोरी मान्छे एक्लै बस्दा चाँही भने किन त्यती ठूलो समस्या हुन्छ त? आखिर दुबै मान्छे होइन र? किन हुन्छ त विभेद? मान्छे जसरी बसोस, जसरी बाँचोस् त्यो उसको कुरा हो। अनि मान्छे एक्लै विभिन्न कारणले गर्दा बस्दछ। कोही वाध्यताले गर्दा बस्छन, कोही आफ्नो स्वतन्त्राता र खुशीको लागि बस्छन। गाउँमा धेरै अवसरको कमी छ। मान्छेहरु अवसरको खोजीमा काठमाडौं आउने गर्छन् अनि सबैले घर-परिवारसँग बस्न पाउँछन् भन्ने छैन। अनि यस्तो अवस्थामा अरुले के भन्छ भनेर को मान्छे खोजेर बस्ने त? के मान्छे एक्लै बस्ने बितिक्कै बिग्रिन्छ त? अनि बिग्रिनु भनेको के हो? कस्तो मान्छेलाई बिग्रेको भन्ने?
मान्छे एक्लै बस्नु भनेको आफू पूर्णरुपमा स्वबलम्बी भएर आफ्नो जीवन निर्वाह गर्नु हो। एक्लै हुँदा मान्छेले धेरैँ कुराको एक्लै सामाना गर्नुपर्ने हुन्छ। यसरी सामाना गर्दा उसको जीवनमा धेरै कुराको सिकाइ हुन्छ। अनि यो ठूलो मौका होइन र? अनि किन गरिन्छ त चरित्र माथि प्रश्न?
एक्लै हुँदा मान्छे पूर्णरुपमा स्वतन्त्र हुने गर्छ। स्वतन्त्रता हरेक मानिसको ठुलो शक्ति हो र जिम्मेवारी पनि हो। जीवन भोगाइले र अनुभवले मान्छेमा पारीपक्वता ल्याउने गर्छ। एक्लै हुने बितिक्कै मान्छेमा आफूप्रति जिम्मेवारी नै हुँदैन, कुनै कुराको मतलब नै हुँदैन भन्ने कुरा शतप्रतिशत गलत छ। यदि कसैको कृयाकलाप तथा कार्यले कसैलाई असर नपरेसम्म कसैको नि निजी जीवनतिर ध्यान नदिउ। मान्छे जेसुकै गरी हिँडोस्, जसरी जीवन बिताओस त्यो सब आफ्नो चाहना हो। छोरा होस् वा छोरी होस् कुनै भेदभाव नगरम। आफुलाई अनुशासनमा राखेर जीवन अगाडि बढाअाैँ। एक्लै बस्नु तथा हुनुलाई कम्जोरी तथा समस्याको रुपमा नलिअाैँ यसलाई ठूलो अवसरको रुपमा लिएर जीवन सुन्दर बनाअाैँ। मनुष्य हुनु भनेको ठुलो शक्ती लिएर आउनु हो कुनै झुसिल्कीरा तथा सर्प हुनु होइन। आफ्नो शक्तीलाई शाही ठाउँमा सही तरिकाले उपयोग गर्नु नै जीवनको सार्थकता हो। छोरी मान्छेलाई एक्लै बस्छ भनेर हेपेर बाँच्न असहज बनाउनुको साटो कर्म गर्न प्रोत्साहन गरेर जीवन ज्युन हौसला बढाअाैँ। सृस्टिकर्ता नारी भनेर शब्दमा मात्र नराखेर व्यवहारमा उतारौँ। छोरी मान्छेप्रतिको बाक्लो कालो सोचलाई जरैसाथ उखालेर फालम।
वाहा ताजा भो मन
ReplyDelete