किरात र कोयी(कोयु)राई

 किरात र कोयी(कोयु)राई


नेचुरल्लीदीपक
 


 
बहुआयामिक देश नेपालमा किरात सभ्यता, भाषा र सँस्कृतिको बेग्लै पहिचान छ । किरात शब्दको अर्थमा अनेक तर्कहरू विभिन्न विद्वानहरूले दिँदै आएका छन् । विचारक सौरभले त आफ्नो पुस्तक 'असहमतिमा' किरात इतिहास नै छैन भनेर घोषणै गरिदिएका छन्* । तथापि अनेक जीवित मौलिक किराँती सम्पदाहरुको आधारमा यो एक पुरानो सभ्यता हैन भनी नकार्न भने सकिन्न ।
किराँती जनश्रुति लगायत केही लेखक र विश्लेषकहरुले तलका जातिहरुलाई समग्रमा किराँती हो भनी स्विकार गरेका छन्;-
 
१) लिम्बू (याक्थुम्बा)- अरुण खोला पूर्वका (पल्लो किरात) ।
२) खम्बू (राई)- सुनकोशी पारिका ( माझ किरात)।
३)सुनुवार (कोईच)- सुनकोशी वारीका ।
४) याक्खा
५) मगर
६) हायु
७) जिरेल
८) सुरेल
९) थामि
१०) थारु
 



(नोट; तथापि विभिन्न लेखकले किरातहरू बारे अनेक मत राखेका छन्;-

१) Edden Vansittart त राई (खम्बू) मात्र  किरात हो तर लिम्बू र याक्खासँग बिहेबारी चलेकोले यी जातिलाई पनि किरात मानिए भन्छन् ।
२) Charles Mcdougal माथिका पहिलो चार जाति मात्र किरात हुन् भन्छन् ।
३) डोर बहादुर विष्ट, डा. हर्क गुरुङ्ग र राम कुमार पाँडेजस्ता विद्वान भने गुरुङ्ग, नेवार, मेचे, कोचे, थकालि, शेर्पा, थारु, भोटेलाई पनि किराँती नै मान्छन् ।)


राई शब्द रायबाट अपभ्रंश भई बनेको हो जसको अर्थ 'राजा' वा 'मुखिया' जस्तै हो भनी बुझ्नुपर्छ भन्ने मान्यता रहेता पनि खम्बू शब्दको अर्थमा भने केही फरक मत पनि पाईन्छ । जस्तो कि;-Charles Mcdougal खम्बूहरु 'खम्बूहोको' सन्तान भएकोले खम्बू नाम भएको मत राख्छन् । यस्तै काजिमान कन्दङवा भन्छन्, "भक्तपुरको पौराणिक नाम खृपृङ, खृपृमव्रुमा, खोपृम, खोप्व हुँदै खोबुम हुन गयो । यिनै खोप्व वा खोबुमका वासिन्दाहरु नै खम्बू हो ।" यद्यपि राईहरू खोटाङ्ग, भोजपूर, ईलाम, धनकुटा, शंखुवासभा लगायत नेपालको पूर्वि जिल्लामा छरिएर बसेका छन् र एक-अर्कोसँग बुझ्न कठिन पर्ने २८ देखि ३२ वटासम्म राई भाषा बोल्ने गरिएको मान्यता रहिआएको छ (यी मध्ये केही भाषाहरु लोप हुन लागेको वा भैसकेको पनि बुझिन्छ । ) । तसर्थ साकेला नाच्दा गाइने गीतहरु अनि रिसिवाहरु (मुन्दुम फलाक्दा गाइने) पनि फरक-फरक भाषामा भएता पनि सबै थरका राईहरुले आफूलाई किराँती नै मान्ने गरेका छन् । राईहरुको केही उप-जातहरु यसप्ररकार छन् (केही छुटेका छन्);-
 
१) बान्तवा
२) चाम्लिङ्
३) पुमा
४) आठपहरिया
५) नाछिरिङ
६) दुमि
७) कोयी (कोयु)
८) साम्पाङ
९) वाम्बुले
१०) कुलुङ
११) थुलुङ
१२) याम्फु
१३) लोहरुङ
१४) बाहिङ (बायुङ)
१५) खालिङ
१६) रुम्दाली (रुम्दाली राईको थर होईन । उनिहरु बाहिङ/बायुङ हुन् उनीहरुको एउटा ग्रुप रुम्जटारमा बसोबास गरेकाले रुम्जटारे भने जस्तै रुम्दाली भनिएको हो भन्छन् ती  भेगका बाहिङ राई हरुले।)**
१७) उबुँचौरासे
१८) मेवाहाङ (मेवाहाङलाई कुनै ठाँउमा नेवाहाङ।)**

१९) तिलुङ

२०) छिलुङ

२१) जेरुङ
२२) मुगाली
२३) बेलहारे
२४) दुङ्माली
२५) लिङ्खिम  
२६) साम
२७) फाङदुवाली 
२८) छिन्ताङ

यी सबै राई थरहरुको अलग-अलग भाषा भएता पनि लिम्बू, याक्खा र सुनुवारहरुको भाषामा भने धेरै हदसम्म समानता मिल्छ ।


अब अर्को विषयमा प्रवेश गरौँ, कोयी राईहरुको उत्पत्ति र विकास खोटाङ्ग जिल्लाको सुङ्देलमा (सोदेल्) भएको मान्यता रहिआएको छ । कोयी राई भाषामा सुङ्देललाई सोदेल भनिन्छ । यसै शब्दबाट बिग्रिएर सुङ्देल भएको हुनुपर्छ । यस शब्दमा (सोदेल्) 'देलको' अर्थ कोयी भाषामा गाउँ हुन्छ भने ‘सो'को अर्थ एक पुर्खाको नाम हो भनी डा. धन प्रसाद सुवेदी बताउँछन् (प्राचार्य, पाटन संयुक्त क्याम्पस) ।


कोयी भाषालाई 'कोयी बअ' भनिन्छ भने खस भाषालाई 'लुब बअ' भनिन्छ । सुङ्देलमा बस्ने सम्पूर्ण जातिले यो भाषालाई स्पष्टसँग बोलेको देख्न सकिन्छ । तथापि आजकाल खस भाषाले यस भाषाको मौलिकतालाई बिगार्दै लगेको छ । जस्तै;- आजकाल 'आङलाई' शब्द बृहद रुपमा प्रयोग गर्न थालिएको छ । यहाँ 'आङ' कोयी शब्द हो अनि लाई खस भाषा । यसको अर्थ मलाई हुन्छ । तथापि शुद्ध कोयी राई भाषामा 'आङय' हुनुपर्ने हो । सोदेलमै पनि कोयी बअ फरक-फरक उच्चारण र शब्द प्रयोग गरि बोलिने गरेको देखिन्छ । उदाहरणको लागि पेटलाई कतै 'मुबु' त कतै 'मुमु' भन्ने गरिन्छ ।


कोयी राईहरुले बाख्रा पाल्ने मात्र हैन छुने पनि गर्दैनथे, खान त परकै कुरा हो । अझ कत्तिसम्म भने बड्कौलासम्म पनि नटेकी हिँड्ने गरेको देखिन्थ्यो । यद्यपि अन्य केही  राईहरु भने बाख्रा पनि पाल्ने/खाने गर्छन् । कोयिहरु बाख्रालाई सुसा भन्छन् । यसको अर्थ पूजा आजामा नचल्ने,विशेष पित्री हरुले स्विकार नगर्ने वस्तु,पशु,पंक्षीहरु। । 
 
कोयी राईहरुमा दुई पाछाहरु मुख्य रुपमा रहेको छ;- (मुख्यतः जनश्रुतिको आधारमा)
१) धिरुल
२) मुन्चुपा
 
यि दुई पाछाहरू बाहेक 'हदुकु' पनि एक अर्को पाछा रहेको थाहा पाइन्छ । बुझिल्याउँदा हदुकुहरु अरु नै थरको राईहरु भएको र बसाइँ सरी आएको थाहा हुन्छ । हदकु शब्द 'हुमु'बाट आएको अनुमान गर्न सकिन्छ । हुमुको अर्थ पर्खनु वा आउनु हो । यी हदुकुहरूले आजभोलि आफ्नै पुरानो थर, जस्तै नाछरिङ्ग लगायत अरु थर भन्न थालेका छन् । यी तीन पाछाहरू बाहेक 'राई पाछा', 'ना पाछा' र 'गौरूङ्ग पाछा' पनि प्रचलित छ । यी पछिल्ला ३ पाछाहरू सोदेल छाडि अन्य जिल्ला गएकोहरुले प्रयोग गर्दै आएको थाहा पाइन्छ । साथै उनिहरु कोयु भनी आफ्नो परिचय दिन्छन् ।

राई पाछा, गौरूङ्ग पाछा  र ना पाछा कसरी बन्न गयो भनेर बुझ्दै जाँदा केही अनुमान गर्ने आधारहरू पाउन सकिन्छ । पहिले बेँसीको कर उठाउने व्यक्तिलाई राई अनि लेखको (खर्क) कर उठाउनेलाई गौरूङ्ग भन्ने गरिएको थाहा पाइन्छ । सायद यही खलकको कोयीहरु बसाइँ सरेर गएपछि उनीहरुले यही पदलाई पाछाको रुपमा प्रयोगमा पो ल्याए कि? अनि कुनै पुस्तामा नागा नामको एक वंश भएको बुझिन्छ र उसैको सन्ततिले सायद ना पाछा प्रयोग पो गरे कि? यसरी हेर्दा पाछालई वंशसँग जोडिएको हो कि भनेर पनि अनुमान गर्दा फरक नपर्ला । र, कोयी र कोयु एकै हुन् भनी मान्न सकिन्छ ।

थप, (धिरुल,मुन्चुप्पा,हदुकु तीन दाजुभाइहरु हुन् । पछि पाछा हुन गएको हो । सुङ्देल स्थित ललित चन्द्र र भूपिन्द्र सर हरुले खोज अनुसन्धान गर्दै हुनुहुन्छ,उहाँ हरुले भन्नुभएको अनुसार पाछाहरु धिरुल,मुन्चुप्पा,हदुकु (सुङ्देलमा),तेम्मेबी,सफोबो(दिप्सुङमा),राईपाछा,गौरुङपाछा,ना:पाछा (भोजपुर), कुईमीछा(उदयपुरमा)अनि हदुकु को पुर्खा हरुले सुङ्देलमा आफ्नो जुवाई चेला माथि अप्रिय घट्ना घटाएकोले आफ्नो घरजग्गा भान्जालाई दिइराखेर सबै दाजुभाइहरु संखुवासभाको दिदिङ गाउँमा बसाईसराई गएर बसेकाछन अरे(अहिले यी मामा भान्जाका सन्तान हरुलाई दुइटा हदुकु पाछामा बिभाजन गरेकाछन भन्ने सुन्नमा आएकोछ।)**


थप; जनश्रुति अनुसार धिरुलहरु चाहिँ डाँडा डाँडामा धिरिरि उडि घुमेछन् रे तसर्थ धिरुल भनिए र जनसङ्ख्याको हिसाबमा धेरै भएर फैलिए छन् । उता मुन्चुपा चाहिँ एक ठाउँमै अल्छी गरेर बसेकोले कम भएछन् रे । यहाँ 'मुन्चुको' अर्को अर्थ बुख्याँचा पनि हो ।
राईहरुमा पाछाहरुलाई थप "सामेमा" विभाजन गर्ने गरिन्छ । कोयी/कोयु राईहरुमा दुईवटा सामे रहेको छ ।

१) ब्यक्सुक्पा
२) ब्यक्सुक्मा

[(सामे= ब्यक्सुक्पा/ब्यक्सुक्मा (शायद कोयी राई हरुको पुर्खा हुनुपर्छ )]**

 ब्यक्सुक्पा पुरुषलाई जनाउन प्रयोग गरिने सामे र ब्यक्सुक्मा महिलालाई जनाउन प्रयोग गरिन सामे हो भन्ने बुझिन्छ । 
 
अन्तमा कोयी राईहरु संसार भरि नै फैलिएको छन् तर पनि भाषा र मौलिक सँस्कृति लोप हुँदै गएकोले सबै सुझबुझ भएकोहरुले केही काम गर्नुपर्ने पनि देखिन्छ ।


[नोट;- यहाँ निलो अक्षर 
लेखिएको भाग (**) फोफो हितबहादुर कोयी राईबाट प्राप्त भएको हो ] ।


थप अध्ययन र स्रोत;-
१)काजिमान कन्दङ्वा, “राईहरु कहिलेबाट लिम्बू भए,” सार्वजनिक डट कमबाट
लिङ्क- https://naturallydeepak.blogspot.com/2019/06/rai-people.html
२) "किरातभूमि र किरात जनजीवन," टङ्क बहादुर राई. पुस्तक ।
 
 
२०७२/ २०१५/  नखुडोल
 
 

Comments