नेचुरल्लीदीपक
"म न राजावादि हुँ, न त नेतावादि न राणावादि ।"
पहिले केही चर्चा गरूँ नेताहरु बारे; नेपालमा कम्युनिस्ट-कम्-कङ्ग्रेस नेताहरुले २००७ सालपछि निरन्तर शासन गर्दै आएकै छन् । अब कुनकुन पार्टि र कोकोले गरे भनेर नभन्दा नि खासै फरक छैन ।अझ १० वर्ष विद्रोह गर्दै "मै हुँ" भनेर आएको पार्टिले १७,००० मानिसको जीवनलाई स्वाहा मात्र पारे । साथमा विद्यालय, घर, रेडियो-टिभि-फोनको टावर, बैङ्क लगायत अनेक पुलहरु सखाप पारेर देशलाई ५० वर्ष पछाडी धकेलेर छोडिदिए । न त वाचा गरे अनुसार विकास र निर्माण नै गरेर देखाउन सके । बरु जीवनभर राजनिति मात्र गरेको सब पार्टिको नेताहरुसँग करडौँको सम्पत्ति मात्र थुप्रिएको छ । उता मधेशवादि दलहरुले पनि जनतालाई धोका मात्र दिए । जङ्गल र ओडारमा बसेको जनताहरु सहर आएर बाँच्न पाउँने कैले? अनि शितलहरले मरिरहकोहरुले घर पाउने कैले? बरु महाकालि, गण्डकी र कोसी बेचिसके । अनि आफ्नै देश बाढिमा डुब्न विवश भएको हेरेर बस्न लाज पनि नभएको यी नेताहरुलाई म कसरी आफ्नो मानूँ? थप भ्रष्टचार र घुसखोरीको त कुरा गरिनँ । सब पुरानो भैसक्यो ।
अब, राजाहरुको कुरा गरूँ न । महेन्द्रजस्ता केही राजाहरुले देशलाई माया गरेकै हो । आजको त्रिवि विश्वविद्यालय, महेन्द्र राजमार्ग, अनेक कल कारखाना, अनेक ऐन र संविधान अनि ४ दर्जनभन्दा बढि वस्तुमा स्वबलम्बि बनाउन, साथै भारतिय सैनिक क्यम्प फिर्ता गराई सफल शासन गर्ने उनको क्षमता हेर्दा गर्व लाग्छ । तथापि यी विकास गर्दै गर्दा भाषा, सँस्कृति र सँस्कार, भेषभुषामा एकजातिय रुप मात्र दिन खोज्नाले आज धेरै नेपालीहरुको मन कुँढिएकै छ । तर यहाँ चर्चा अरु नै विषयमा गर्न मन छ मलाई । राजाहरुले त शासन गर्ने हुन्, अर्थात् देश चलाउने । तर न उनीहरुले खेत खने,न जागिर गरे न त कुनै काम नै गरे तर पनि अरबौँपति कसरी भए? यति गरिब देशको राजाहरु धनी हुनु स्वभाविक हो र? हिमाल, पहाड र तराई/मधेशको कुना-कन्दरामा कैयन् जनताहरु भोक र अौषधी अभावमा मरिरहँदा राजाहरु भने दरबारमा कबाब र शराबमा रमाइनै रहे । उनीहरुलाई कबाबमा गरिब जनताको पसीनाको गन्ध आएन न त रक्सिमा उनीहरुको रगतको । बरु उनीहरु त अरबपत्तिबाट खरबपत्ति बन्नतिर लागि मात्र रहे । हुन त नेताहरुले मात्र ३१ ( २०४७ पछि) वर्ष भित्रमा २५० वर्षभन्दा बढी शासन गरेको शाह शासकलाई उछिनेर अरबपत्ति बनिसकेका छन् । हैन देशमा प्रजातन्त्र आएपछि पनि राजाहरु दरबारमै बसे । "बुलेट प्रुफ" कारमा हिँडे । अलिकति पनि लज्जा भएन । जनताले खान नपाउने देशको राजा भएर पनि शाही शासन त्याग गर्न नसक्नु लाजको भारी हैन र? महिनाभरी ५०० रुपैयाँ कमाउन नसक्ने जनता भएको देशको राजा र उसको परिवारले लाखौँ भत्ता र राजतलब खाँदा पनि मन नकुढिँने राजाहरु के राजा? के साईकलमा हिँड्दा, सामान्य घरमा बस्दा वा कबाब-शराब नखाँदा उनीहरु हाम्रो राजा नहुने हुन् र? १० पुस्ता अगाडि उनीहरुको जिजुबाहरुको योगदानलाई हामी नबिर्सौँ तर त्यति कारण मात्रले उनीहरु जन्मदैँ मोजमस्ति लिएर जन्मने तर नागरीकहरु नाङ्गै हुनुपर्ने यो बिडम्बना बुझ्दा म राजालाई पनि मन नपराउने भएँ ।
हुन त राजावादिहरु राजाको राम्रो कामको मात्र गुणगान गर्छन् र नेताहरुलाई सराप्छन् उता पार्टि-कर्ताहरु पनि राजालाई धिक्कार्छन् । तर यी दुबै खेमाहरुले स्वयमको असक्षमतालाई केलाएर न आत्मालोचना गर्न जाने न एकअर्कोको असल कामको समर्थन नै गर्न सके । यी दुई वादिहरुले गरेको कामभन्दा कम श्री ३ धारि राणाहरुले पनि नगरेको त कहाँ हो र? लु यस्सो चर्चा गरौँ न;-
दरबार हाई स्कुल, त्रिचन्द्र कलेज, फर्पिङ जलविद्युत गृह, कल-कारखाना मात्र कहाँ हो र, उनीहरुले पहिलो पटक पिच सडक निर्माण गरेर मानिसलाई बोकाएरै भएपनि कार झिकाएर गुडाएकै हो । अझ दाशप्रथा र सतिप्रथा अन्त्य गर्ने पनि उनीहरु नै हुन् । त्रिचन्द्र कलेजमा जनतालाई पढ्न दिने उनीहरु नै हैनन् र? अलि पर गएर हेर्दा अङ्ग्रेजलाई रिझाएर बाँके, बर्दिया, कैलाली र कञ्चनपुर जिल्लालाई नयाँ मुलुकको रूपमा फिर्ता गराउने पनि उनीहरू नै हुन् । अब यी तथ्यकै भरमा म चैँ राणावादी हुन सक्दिनँ । आशा छ चेतना भएको नेपाली जनता पनि पक्कै राणावादि नहोलान् । जबकि राणा शासकहरुले गरेको केही राम्रो कामलाई हेरेर मात्र मलाई यिनिहरु मन पर्दैन भने, म किन नेतावादि र राजावादि बनूँ???
यसैले म न नेतावादी हुँ, न त राजावादी किनकी “शासकहरु केवल शोषक हुन्; नेता होस् वा राजा।” राणावादि त सायद पशुपतिघाटतिर मसान बनिसके होलान् ।
अब सोध्नुहोला म के वादि भनेर । म केही वादि हैन । देश र जनता प्रेमी हुँ । र, हरेक किसान, मजदुर अनि मेहनतिले कबाब र शराब अनि दरबार नपाए पनि गाँस, बाँस र कपासमा नअल्मलि सम्मापूर्वक सपना देखेर हाँसी-खुसी बाँच्न पाउनुपर्छ भन्छु म त । तथापि यो मेरो चाहना कुनै वादिको नेताहरुले पूरा गरिदेलान् भन्नेमा मलाई अलिकति पनि आशा छैन, किनकी आजको दिनमा यो देशमा वास्तविक जन-नेता नै जन्मन सकेनन् । यसैले नागरिक सचेत भएर अगाडि बढ्ने बेलै यही हो । अलि जान्ने/सुन्नेहरूले राजावादी र नेतावादि नबनेर जनताप्रेमी पो बन्ने कि??
"यसैले राजा आऊ देश बचाऊ, नेता आऊ देश बनाऊ हैन । जनता जाग, जनता जाग केवल जनता जाग ।"
नोट; यद्यपि देशको लागि मरिमेटेर लागि परेका असल राजनेताहरुप्रति भने म सदा नमन गर्दछु । यो अर्थ नलगाईयोस् कि सच्चा नेताहरुको जन्मै भएन यो देेेेशमा ।
०६. बैशाख. २०७८/ १९. अप्रिल. २०२१/ सोमबार/ २:४५ दिवा/ नखुडोल
Comments
Post a Comment
Thank you. I am pleased to hear from you. Please keep motivating me.