लेखक हुनुमा गर्व गर्नु र?

 लेखक हुनुमा गर्व गर्नु र?




नेचुरल्लीदीपक
 





लेखनकै क्रममा मैले कैही नाम चलेकै नाटक-घरहरुकोलागि नाटक अनुवाददेखि लेखनसम्म गरिदिएको छु । अनि केही नाम र थोरै भएपनि दाम पनि थापेकै हो । तर यो लेखमा लेखक हुँदा आइपरेका केही हीनताबोध भएको अनुभूतिलाई उतार्ने जमर्को गर्दै छु ।
मेरो कामहरू (लेखन) मन परेर आजभोल लेखन, नाट्य रुपान्तरण अनि नाट्य-अनुवादको अनुरोधहरू बढ्न थालेको देखेर म बिखलबन्दमा परेको छु । पहिलो कुरा त लेखन अनुवाद वा रुपान्तण गर्दा मैले लेन उपलब्धिमा अझ एक कदम अगाडि बढाएको हुन्छु; तर दोस्रो पक्षबाट नियाल्ने हो भने अलिअलि पाइने वाहवाहीको लागि समय, मिहिनेत र कलाको वर्वादी मात्र गरेजस्तो पनि हुन्छ मलाई ।
यहाँ केही घट्नाहरूको चर्चा गरूँ;


घट्ना १- 'एक पटक एउटा साथीले ठीकैको कथा लिएर आयो अनि सर्ट मुभि बनाउन लागेकोले त्यो कथालाई परिष्कृत गर्नुपर्ने बताएकोले हामी दुई भएर अन्तिम स्वरुप दिनतिर लाग्यौँ । भाषामा राम्रो ज्ञान साथीको नभएकोले मैले भाषा सम्पादनदेखि धेरै हदसम्म संवाद र कथामै निकै काम गरेँ । अन्तमा सबटाईटल पनि अङ्ग्रेजिमा लेखिदिएँ तर सर्टमुभि बनेपछि त मेरो नाम त सबटाईटलमा मात्र पो सीमित पारिएछ । पारिश्रमिक त परको कुरा भो । मेरो समय र मेहनत मात्र खेर गयो, भाषा सम्पादन, संवाद र स्टोरी टेलिङमा मैले गरेको कामको पनि उसैले श्रेय लियो ।'


घट्ना २- 'एउटा नाट्य अनुवाद गरिदिएको थिएँ केही वर्ष अगाडि । पारिश्रमिक रु ५,००० पाएँ । तर यसमा पनि मलाई अलि चित्त बुझेन । केही बढि अनुहार चिनिएकोले त्यही काम गरे मैले पाएकोभन्दा ६/७ गुण बढि पाउन सक्छ । जबकी स्थापित यी संस्थाहरूले मेरो काम उनीहरुकोभन्दा (चिनिएका) कम नभएरै स्विकारिएको होला । हो भने यस्तो विभेद गर्नु भएन नि । यसरी स्थापितहरू संस्था नै यस्तो गर्न लागेपछि कसलाई पो लेखक हुनुमा गर्व गर्न मन लाग्ला र?


अनुभव;
यहाँ नाटक लेखन र अनुवाद हुँदाको अनुभव पनि सुनाउँ न; मञ्चमा देखिने कलाकारहरूको त धेरै चर्चा हुने नै भयो । यसपछि आउँछ निर्देशकको । लेखक त को हो वा के हो? थाहै पो हुन्न । कति सम्म भने निर्देशकलाई नै 'नाट्य परिकल्पनाको' ताज पहिराउन थालिएको छ । हो निर्देशकको निर्दशकिय परिकल्पना हुन्छ । तर लेखकको चैँ लेखकिय परिकल्पना नै नहुने हो? कि परिकल्पना नै नगरी लेखन सम्भव हुने हो? यो त हदसम्मको अन्याय हो । रुखको हाँगा र पात मात्र नभै जराको पनि उतिकै महत्व हुन्छ । लेखक अवश्य नै जरा हो । स्पष्टसँग भन्ने हो भने त कलाकारहरूको पनि आ-आफ्नै परिकल्पना हुन्छ । अझ एउटा उदाहरण दिन चाहेँ गर्भमा पूर्णता पाएको शिशु जन्मेपछि जसरी उसलाई पालन पोषण गर्नुपर्ने महत्त्व हुन्छ नि । त्यतिकै गर्भमा पूर्णता प्राप्त गर्न पनि जरुरि हुन्छ ।  अपरिपक्व शिशु जन्मिए आईपर्ने समस्या त थाहै छ नि, हैन र? नाटकलाई गर्भमा पूर्णता दिने त लेखक नै हो ।
 
यसरी (यहाँ नाटक) लेखकहरू (नाम चले अर्कै कुरा) गुमनाम हुनुको केही कारणहरू छन् । पहिलो, संस्थाले नै चासो नदिनु । यहाँ म मेरै अनुभव बाँड्न चाहन्छु । कति पत्रिकाहरूमा मैले काम गरेको नाटकको बारे समाचार छपाइँदा मेरो नाम नै नछापिएको पाएँ । अझ विचार छपाइँदा पनि निर्देशकको मात्र प्रायः छापियो । यो त्रुटि हो कि अन्याय?
दोस्रो कुरा, अझै पनि हाम्रो समाज लेखन महत्त्व बारेमा खासै जानकार नै छैन । यसलाई सम्बोधन गर्न सम्बन्धित निकायले पनि खासै चासो राख्ने गरेको देख्न सकिन्न । नत्र त मेरो त्यस्तो अनुभव नै हुन्न थियो । र, अझै पनि हामी व्यावसायिक हुन जानिसकेको छैनौँ । न त उचित सम्मान दिन तैयार हुन्छौँ न आर्थिक सम्बोधन गर्न दिल खुल्ला नै गर्छौँ (अपवाद बाहेक) ।
 
यहाँ, बुझ्नै पर्ने कुरा कोही एकजना मात्र लेखक, निर्देशक वा कलाकार सदा बनिरहन सक्दैन । यसको केही व्यावहारिक र अन्य कारणहरु छँदै छ । तसर्थ सबैजनाले बराबरीको सम्मान र  पहिचान पाउने गरि काम गरिनु नै उपयुक्त हो । हैन भने लेखक हुन गर्व लाग्न छोड्नेछ ।  र पहिचानको सबै भोको र अधिकारी हुन्छ, हैन र? अनि उपयुक्त स्थान र पारिश्रमिक नदिई  काम मात्र लिने गर्दा कसैको पनि भलो हुन्न । सबैले मिलेर यसलाई सम्बोधन गरे राम्रो ।
 

नोट: सब काम नाम वा पैैैैसा अथवा नाम+पैसाको लागि मात्र गरिन्न । यो लेख अरुलाई उचित 'जस' नदिई आफ्नो स्वार्थ पूरा गर्न मात्र अभिप्रेरितहरु विरुद्ध हो ।


१३. चैत्र. २०७७/ २६. मार्च. २०२१/ शुक्रबार/ ०६:३७ साँझ/ नखुडो
 


Comments