विश्वव्यापिकरण; एक भ्रम मात्र नबनोस्

 

नेचुरल्लीदीपक

 

 

कोकाकोला र पेप्सिको साथमा म:म खाँदै गरेको कुनै नेपाली पूर्ण अङ्ग्रेजिमा वा स्पेनिस वा फ्रेन्चमा बोल्दै जिन्समा सजिएर वसन्तपुर डबलिमा देखिइनुमात्र 'विश्वव्यापिकरण' हो भने यश शब्दांशलाई शब्दकोशकोलागि भार मात्र हो भनेर बुझ्दा केही फरक नपर्ला । अथवा सगरमाथा 'माउण्ट एभरेष्टको' रुपमा विश्वभर परिचित हुनु र नेपालीहरु वीर-गुर्खा बनिनू/बनाइनुलाई पो मान्ने कि विश्वव्यापिकरण ???
आज हाम्रो पसिना कहाँ चुहिएको छैन र?- कतारको आलिशान स्टेडियमदेखि कोरियाको चिसो हिउँहरुमा तप्पतप्प झरिरहेछन् । त्यसैले त पि.आर र डिभिको रनाहकमा हरि "ह्यारि" अनि रिता "रिटा" बन्न लालायित छन्? अनि तामाङ्को लवजमा नेपाली बोल्दा हेपिने डरले म्हेन्दो बरु अाङ्ल भाषामा बोल्ने रुचाउँछ उसरी नै सलहेश पनि मधेशी मृदुतालाई त्यागेर आजकाल "हिराकानाको" अक्षर घोकिरहेको हामी देख्न विवश छौँ । सायद यी म्हेन्दो र सलहेशहरू नै पो विश्वव्यापिकरणको संम्वाहक हुन् कि ।
आज हामी यति विवश भैसकेको छौँ कि युरोप वा अमेरिकाको भिसा लाग्ने बित्तिकै कसैको पनि भविष्य सुन्दर मात्र हैन उच्चस्तरको पो भैगएको मान्न थाल्छौँ । हतार-हतार उतैको "पर्मानेण्ट-रेसिडेण्ट" बन्न सके त जीवन उत्सवमय भैहाल्छ हामीलाई । विश्वको छत सगरमाथा हाम्रो हो भनेर गर्व गर्ने हामी सोलुखुम्बुमा बस्छु भन्दा वा संसारकै ज्योति बुद्ध जन्मिएको लुम्बिनीको कुनै देहातमा बस्दा हामी हीनताबोध गर्छौँ । सोलुखुम्बु र लुम्बिनि-देहातलाई २१ अौँ शताब्दिसम्म पनि अटाउन नसकेको विश्वव्यापिकरण कतिको विश्वसनीय हो?
शताब्दियौँबाट (सन् १६२० बाट नेपालीहरू प्रवेश गरि बस्न लागेको) भुटानमा बसिरहेका करिब १ लाख नेपाली भाषिहरु सन् १९९० भन्दा अघिबाटै लखेटिन विवश भए र आज सदियौँबाट (ईश्विको १४ शताब्दि ) म्यान्मार बस्दै आएका रोहिन्ज्याहरु त्यहाँको बहुसङ्ख्याक बौद्ध नागरिकहरूबाट प्रताडित भएर भाग्न विवश भैरहेको हामी देखिरहेछौँ । यी दुई त उदाहरणहरु मात्र हुन् र लखेटिनु वा सताईनुको मूल कारण  विदेशि भइनु/बनाइनु नै रहेको छ । आज पनि विश्वको अनेक देशहरुबाट कैयन् मानिसहरु विभिन्न कारणमा लखिटिन विवश भैरहेछन् ।
हिजोको स्लेभ-ट्रेड-ट्र्याङ्लको पुनरावृत्ति नै त हो कि आजको विश्व्व्यापिकरण । अफ्रिकि भूमिबाट जबरजस्ति लगि कृषिलगायत अनेक श्रममा युरोपियनहरुले हिजो दास बनाएजसरी आज अनेक कारणले(आर्थिक, सामाजिक, राजनैतिक) युवाहरु विदेशिन बाध्य छन् । हेर्दा स्वैच्छिक लाग्ला तर हामीले आज भोगिरहेको एकप्रकार यो बसाइँ-सराई हाम्रो युगको नव-आर्थिक उपनिवेशको एक भयानक रोगको रुपमा विकसित नहोला भन्न सकिन्न । मानौँ विश्वलाई यदि युद्ध, आतङ्क वा भयावह रोगव्याधिले आक्रमण गरेको खण्डमा कुनै पनि देशमा आश्रित विदेशी वा नव-नागरिकले संरक्षण पाउने र समान सुविधा अनि अधिकारको अवस्था के होला? २० अौँ शताब्दि वा त्योभन्दा अगाडिको उग्र-राष्ट्रवाद फेरि मौलाए ती नव-नागरिकको हक-अधिकारको संरक्षण गर्न संयुक्त राष्ट्रसङ्घ लगायत अन्य मानविय सङ्घ-संस्थाहरुले कतिको सबल भएर कार्य गर्न सक्षम रहला? आज पनि विश्वमा उग्रवादी वा आतङ्कवादीहरुले बाह्य-मूलका नागरिकहरु अनेक प्रताडना दिन छोडेका छैन । घृणा र हत्याको बर्बर घटनाहरु घटिरहेको आजको यो समयमा पनि धेरै युवाहरु सकारात्मक भएर विदेशिन वाध्य छन् । यस मानेमा नेपाली युवाहरु पनि विश्वको हरेक कुनामा ज्ञान र सीप बाँड्न/बेच्न छरिएका छन् । यसरी विदेशिनुलाई पो मान्ने हो कि विश्वव्यापिकरण?
तथापि गहिरिएर हेर्दा आर्थिक रुपमा बलियो राष्ट्रहरुको कलादेखि पोशाक र खाना अनि गानासम्म कमजोर राष्ट्रहरुमा खुल्लमखुल्ला भित्रि रहेको हामी देख्न सक्छौँ ।यसैको दुष्परिणाम नै त हो आज हामी नेपालीहरु अङ्ग्रेजी बोल्न सक्नुलाई शिक्षासँग जोडेर हेर्छौँ अनि सभ्यतासँग तुलना गर्छौँ । विश्वव्यापिकरण सही अर्थमा लागू हुने हो भने त न्युयोर्कमा डिँडो र गुन्द्रुक सर्वशुलभ रुपमा यहाँ बर्गर र पिज्जा पाएसरी बेचिनुपर्ने हैन र? कोट-सुटमा गर्व गरेजस्तै हाम्रो नेपाली मौलिक पोशाकहरु पनि ती देशहरुमा गर्व गर्न लायक हुनुपर्ने हैन र? तर अहँ भएकै छैन? उसो भए विश्वव्यापिकरण साँचै सुरु भैसकेको हो त? उत्तर सहज छैन देश र जनता हेरेर आज पनि धेरै देशहरुमा फरक व्यवहार गरिन्छ । जस्तो कि कुनै पनि आर्थिक सम्पन्न देशमा गरिब भनिएको  देशहरुको नागरिकले पाउने तलब- सुविधालाई नै लिन सकिन्छ । अझ अरु मानविय सेवा र सुविधामा के कति भिन्नता होला भन्ने अनुमान मात्र गरे पनि यसको जवाफ सहजै पाउन सकिन्छ ।
भर्खरैको कोरोना सङ्कटले धेरै आप्रवाशी कामदारले दुःख पाए । कतिले रोजगार गुमाए त कति स्वदेश फर्कन बाध्य भए । यो सङ्कटलाई भयावह भएता पनि बिस्तारै नियन्त्रण गरिँदै लगिएको छ । यदि यो सङ्कट, मान्नुस १० गुणा बढि भइदिएको भए ती आप्रवाशिहरुको अवस्था के हुन्थ्यो होला? उत्तर अनुमान लगाउन सकिन्छ । के त्यो सङ्कटलाई विश्वव्यापिकरणले सम्बोधन गर्न सक्छ होला?
आधुनिक विश्वमा प्रविधिको विकासले दुनियाँ सहजरुपमा जोडिन सफल भएता पनि कुनै पनि युरोपेलिले नेपालको भिसा जति सहज रुपमा पाउन सक्छ उति सहज रुपमा नेपालीले पाउन नसक्नु विश्वव्यापिकरण विरुद्धको उपहास हैन र? हिजो उपनिवेश कालमा गरिब देशहरुमा सिधा हमला गरेर प्राकृतिक स्रोत साधनको दोहन गरिए जसरी आज हाम्रो युवाहरु श्रम र सीप बेच्न विवश हुनु र विशाल व्यापारिक सञ्जाल बिस्तार गरेर संसारभर आफ्नो उत्पादन बेचेर एकात्मक व्यापार गरिनु मात्र विश्वव्यापिकरण हो भने हामी सायद ठगिदै छौँ । र, यस्तै हो भने विश्वव्यापिकरण २१ अौँ शताब्दिको उपनिवेशवाद बाहेक अरु केही होईन । अन्ततः हामी हाम्रो मौलिकतालाई बिर्सेर उनीहरु जस्तो बन्न विवश हुनेछौँ । परिणाम स्वरुप हामी "बाघको छालामा गधा" सिमित नरहौँला र???



 

१६. माघ. २०७७/ २९. जनवरी. २०२१/ शुक्रबार
 
 
 
 
 

Comments

Post a Comment

Thank you. I am pleased to hear from you. Please keep motivating me.