"हामी पनि शुद्ध नेपाली बोल्न सक्छौँ ।"

 



नेचुरल्लीदीपक


"हामी पनि शुद्ध नेपाली बोल्न सक्छौँ ।"


एक पटक रौतहटको भोजपूरी भाषी भाइले यसो भनेको थियो । हुन त ऊ सही नै होला  तर मैले उसलाई दुईवटा पश्न सोधेको थिएँ:-


१) के शुद्ध भनिएको लवजमा बोल्न जरुरी नै छ?

शुद्ध भनिएको लवजमा बोल्न मातृभाषिहरुलाई जरुरी छैन किनकी नेपाली भाषा नेपालको प्रमुख सम्पर्क भाषा हो । तसर्थ यसले सबैको संरक्षण गर्नुपर्छ । अर्थात् नेपालीहरु सबै नेपालको सन्तति भएकोले हरेकले आफ्नो मौलिक लवजमा बोल्नु पाउनुपर्छ । नेपालमा क्षेत्र र जात अनुरुप लवजमा फरकपन आउँछ । यसमा हामीले गर्व गर्नु पर्ने हो तर बिडम्बना हामी हिनता बोध गर्छौँ । यो भाइले शुद्ध नेपाली भन्नाले पहाडी ब्राह्मण जिब्रोको लवज नै हो । सायद उसलाई पहाडतिरको राई, लिम्बू, तामाङ्ग, मगर वा गुरूङ्गहरुले कसरी बोल्छ थाहा नहोला। अनि उसले यहाँ भन्न खोजेको पनि पक्कै पहाडी ब्राह्मणको लवज नै हो । हुन त उसले तक्मेबूढाले बोल्ने भाषा त थाहा पाएकै छ । तर म तक्मेबूढाको लवजमा वास्तविकता पाउँदिनँ । शुद्ध लवजमा बोल्नु भनेको कालो वर्णको मान्छेहरूलाई गोरो हुनलाई 'फियर एण्ड लव्ली' लगाउन विज्ञापन गरिएजस्तो हरिप सोचको काम हो । के कहिल्यै गोरालाई कालो बनाउन यस्तो क्रिमको आविष्कार गरिएको छ त? छैन भने कालोलाई चाहिँ किन गोरो बनाउन समाज तत्पर छ?


२) यदी हामी बोल्न सक्छौँ भने यसमा हामीले गर्व गर्ने कि नगर्ने?

हामीले बोल्न सक्छौँ भनेर गर्व गर्नुमा कुनै तुक छैन । राज्यले शक्तिको आँडमा तोकिदिएको मापदण्डको आँडमा "यो शुद्ध र त्यो अशुद्ध लवज हो" भन्नु हामीमाथि भएको साँस्कृतिक दमन हो । यो कथा नेपालको मात्र नभएर सारा संसारको वास्तविक कथा हो । हरेक देश र भाषामा तोकिएको मापदण्डको आधारलाई नै उच्च लवज हो अरु तुच्छ भन्ने भावनाको सीर्जना गरिएको छ । सानोमा स्कुल पढ्दा मलाई एउटा साथीले 'डीपक' भनेर बोलाउँथ्यो । म उसलाई सही दीपक हो भनेर सिकाउँथेँ । ऊ आफ्नो मातृ भाषा बोलेर हुर्किएको मान्छेलाई निकै गाह्रो हुन्थ्यो । उसलाई बिना कारण शुद्ध उच्चारण गर्न लगाउनु मभित्र लादिएको साँस्कृतिक दमनको परिणाम थियो । आज मलाई उसँग माफि माग्न मन छ ।  किनकी यसले उसलाई हीनताबोध गराउँथ्यो।

 

तथापि कोही स्वचाहनाले शुद्ध भनिएको लवज सिक्न चाहन्छ भने यो उसको स्वतन्त्रता हो तर मजाक बनाइने डरले जबरजस्ति सिक्नु चाहिँ दमन मात्र हो । अझ पछि सिकिएको भाषा बोल्दा आफ्नो मातृ भाषाको लवज आउनु त सामान्य वास्तविकता हो । तर सदा, यती सरल यथार्थलाई दबाउँदै मजाकको पात्र बनाउन शक्तिशालिहरु लागिरहेका छन् । अनि हामी हीनताबोधलाई परास्त गर्न जबरजस्ति अरुको सिको गर्न तल्लिन र मख्ख छौँ । हामीलाई हामी अन्यायमा छौँ भन्ने पनि ज्ञात छैन । यसैले त हाम्रो समाज पहाड र मधेशको साँघुरो घेराहरुमा छताछुल्ल हुन पुगेको छ । हामी कहिले पूर्ण नेपाली बनौैला यसरी त???





२६. असोज. २०७७/ १२. अक्टोबर. २०२०/ सोमबार/ नखुडोल


Comments