पढाइ छोडेर के भो त, त्यत्रो पैसा कमाइराछ!
For Alternative Reading- Seto Pati
हरे! यत्रो पढेर नि केही गर्न सकेको छैनौ? ह्या,कस्तो स्कोप नभाको विषय पढेको हो? म त मेरो छोराछोरीलाई डाक्टर बनाउने हो कुनैपनि हालतमा। को बस्छ नेपालमा कुनै फ्युचर नै छैन! कस्तो बुद्धि नभाको मान्छे त्यत्रो पढेर नि केही गर्न सकेन! त्यतिकै खेर गयो त्यत्रो पढेको।
धेरै पढेर नि काम छैन मलाई त पुग्यो, को गर्छ बेकारको दु: ख? मैले समयमा पढाइ नसकाएर धेरै धोका पाएँ, समयमा पढाइ सकाको भए मेरो प्रमोसन हुन्थ्यो, टन्नै पैसा कमाइन्थ्यो।
पढाइको काम छैन, नभाको झन्झट, जागिर खानको लागि योग्यता भैइहाल्यो, अब खुरु- खुरु लोकसेवा पढ नाम निकाल।
हे भगवान! फलानाले त पढ्न थालेछ। मर्नेबेला हरियो काँक्रो,के गर्न खोजेको होला? अनि के खान बुढेसकालमा हैरान गरेको होला, के छ र अब उसले पढेर गर्ने काम? हेर मैले त राम्रोसँग पढेर पैसा कमाउन सकिनँ तर म मेरो छोरालाई त यस्तो विषय पढाउँछु कि भविष्यमा मैले कमाउन नसकेको पैसा उसले कमाउँछ।
तिमी केही पनि गर्दैनौ भने के काम रह्यो त पढेको? हेर बुद्धि! पढेर के गर्नु केही त ढंग छैन।
मलाई त इतिहास भूगोलमा केही इन्ट्रेस्ट नै छैन। यी सब कुराहरू हुन अहिलेको मानिसहरूले पढाइलाई लिएर दिने तर्क तथा व्यक्त गर्ने धारणाहरू हुन्।
के हामी पैसा कमाउनको लागि मात्र पढ्ने हो त? के पैसा नकमाउने भए पढ्नै पर्दैन त? शिक्षा ज्ञानको लागि कि जीवनको लागि हो? हाम्रा घर-परिवार, समाज, स्कुल, कलेज र विश्वविद्यालयले के कुरा सिकाइरहेका छन् त?
भनिन्छ, शिक्षा जीवनको ठूलो हतियार हो, जीवन जिउने आधार हो, शिक्षाले मानिसलाई असल मार्गमा हिँड्न सिकाउँछ, जीवनको लक्ष्य पहिल्याउन सजिलो बनाइदिन्छ, आदि।
पहिलाको तुलनामा अहिले शिक्षा लिने-दिने तथा हेर्ने दृष्टिकोणमा व्यापक परिवर्तन आएको छ।
के शिक्षा पैसा कमाउनको लागि मात्र हो त? हामीले खर्च गर्ने जीवनका अमूल्य वर्षहरू, समय, मिहिनेत र लगानी के पैसा कमाउनको लागि मात्र हो त? यदि उल्लेख्य मात्रामा पैसा कमाउन सकेन भने त्यो शिक्षा बेकार हो त? मानिसहरू पैसा कमाउनको लागि, केबल पैसाको लागि जस्तोसुकै अनैतिक, गैरकानुनी हर्कतहरू किन गरिरहेका छन् त?
पैसाको लागि मानिसहरू जघन्य अपराध गर्न पनि कुनै कसर बाँकी राख्दैनन्। के हामीले हाम्रो जीवनको महत्वपूर्ण कालखण्ड खर्चिएर लिने शिक्षा पैसाको लागि मात्र हो त?
केहीदिन अगाडि मैले इन्स्टाग्रामको लाइभमा एउटा युवकको कुरा सुनेको थिएँ।
जुन कुरा सुन्दा मेरो मन झसंग भयो र पूरै स्तब्ध भएँ। उसको कुरा थियो कि उसले आत्महत्या गर्ने प्रयास गरेको रहेछ धेरै पटक तर कसरी कसरी बाँचेको रे।
उसको आत्महत्याको कारण रहेछ : उसले स्कुलमा राम्रोसँग पढ्न नसकेर घर परिवारले उसलाई अति धेरै दबाव र गाली धम्की दिएको रहेछ।
यो सब सहन नसकेर उसले धेरै पटक यो संसार छोड्न लागेको रहेछ। ऊ कुनै मोटिभेसनल स्पिकरको लाइभमा आएर आफूमाथि भएको अन्याय तथा मानसिक विचलन वर्णन गरिरहेको थियो।
उसको कुरा सुनिसकेपछि मोटिभेसनल स्पिकरले उसलाई सान्त्वना दिँदै भरपुर सम्झाए।
अन्त्यमा उक्त युवक मोटिभेसनल स्पिकरको कुरामा पूर्ण सहमत हुँदै फुरुङ्ग हुँदै आफ्नो रोकिएको पढाइ सुरू गर्ने निर्णय गर्दै बिदा भयो। यसबाट मैले के बुझें भने हाम्रो शिक्षा धेरै पछाडि छ अझै पनि हाम्रो परिवार तथा स्कुल कलेजहरू मानिसमा भएको क्षमता पहिचान गरेर अगाडि बढाउन, हौसला दिन कन्जुस्याइँ गरिरहेका छन्।
स्कुलदेखि युनिभर्सिटी लेबल सम्मको पढाइमा धेरैजसो किताबमा जे दिएको छ त्यही पढाइन्छ, घोटाइन्छ, रटाइन्छ र त्यसैको आधारमा क्षमताको मूल्याङ्कन गरिन्छ।
निश्चत घण्टाको जाँच लिइन्छ र मूल्याङ्कन गरिन्छ। यदि त्यो तोकिएको घण्टामा राम्रो अंक ल्याउन सक्यो भने त्यो व्यक्ति खत्रा ठहरिन्छ र यदि सकेन भने, गरेन भने उसलाई नपढ्ने र भविष्य अन्धाकार हुनेछ भनेर नानाभाँती तर्क-वितर्क गरेर उसको भविष्यको किटान गरिन्छ।
तर यो कहाँसम्मको अन्याय हो त ? सीमित घण्टाको पेपरमा लेखेको आधारमा कुनै पनि व्यक्तिको भविष्य किटान गर्ने? समय, परिस्थिति र भोगाइले मान्छेलाई धेरै कुरा सिकाउँछ।
आज जुन अवस्थामा बाँचिरहेको छ मान्छे भोलि त्यो अवस्थामा नहुन सक्छ, धेरै बाधा अड्चनहरू आइपर्न सक्छन्। जतिसुकै राम्रो मार्क्स ल्याउने व्यक्ति पनि अप्ठ्यारो परिस्थितिमा आफ्नो निर्णय लिन सकिरहेको हुँदैन, अलमलिरहेको हुन्छ, रुमलिरहेको हुन्छ।
तर धेरैजसो अवस्थामा मार्क्स कम ल्याउने व्यक्तिले भविष्यमा राम्रो गरिरहेको हुन्छ,आत्मविश्वासका साथ जीवनलाई अगाडि बढाइरहेको हुन्छ र मानिसहरू अनि पहिला ठोकुवा गरेर उसको बारेमा दिएका धारणा पूरै बदल्छन् र भन्ने गर्छन् पहिला स्कुल पढ्दा कस्तो कमजोर थियो, बुद्दु थियो, कस्तो केही जान्दैन थियो,अहिले त ठूलो प्रगति गरेछ।
तर मानिसले आफूले गलत धारणा बनाएर कुनैबेला उसको मनोविज्ञानमा असर पारेको कुरा भने चट्टक्कै बिर्सन्छन्।
केही महिना अगाडि मैले चर्चित भारतीय अभिनेता शाहरुख खानको कुनै एउटा अन्तर्वार्ता हेरेको थिएँ, उनले उक्त अन्तर्वार्तामा आफूले जीवनमा गर्न नपाएको र हरपल सताइरहने कुरा बताएका थिए।
मलाई उनको कुराले मन छोयो। उनले जीवनमा गर्न नपाएको कुरा रहेछ- युनिभर्सिटी गएर पढ्न नपाउनु।
कुनै व्यक्ति युनिभर्सिटी गएर पढ्नु भनेको किताबी ज्ञान मात्र लिनु पक्कै पनि होइन।
जब हामी युनिभर्सिटी गएर अध्ययन गर्न सुरू गर्छौं, हामीमा छुट्टै प्रकारको ऊर्जा उत्पन्न हुन्छ। तर बिडम्बना, हाम्रो युनिभर्सिटीमा कुनै मानिसहरूसँग डिल गरेको जस्तो वातावरण नै पाइँदैन।
शिक्षक तथा विद्यार्थी दुवै पक्ष आ-आफ्नो काममा मात्र ध्यान दिन्छन्, शिक्षक किताबमा जे छ त्यही कुरा जस्ताको तस्तै हुबहु बुझाउन खोज्छन् भने विद्यार्थी पनि शिक्षकले जे जे भन्छन् त्यही कुरा जस्ताको तस्तै आफूमा उतार्न खोज्छन्। अनि त्यही प्रक्रिया पेपरमा लेख्यो बुझायो लेबल पार गर्यो।
न त त्यहाँ आफूले बाहेक अरु पुस्तक पढ्न नै शिक्षकले उत्प्रेरणा दिन्छन् न त विद्यार्थीहरू आफूलाई किताबी ज्ञान भन्दा माथि लान खोज्छन्। बस, यसरी नै चल्छ पढाइको यात्रा युनिभर्सिटीमा।
आजकाल धेरैजसो मान्छेहरू मान्छेलाई उसले भौतिक प्रयोग गर्ने भौतिक स्रोतसाधन र कमाउने पैसाको आधारमा मूल्याङ्कन गरिन्छ। भौतिक सम्पत्तिको आधारमा मान्छेलाई तल्लो दर्जा र माथिल्लो दर्जाको भनेर नामाकरण गरिन्छ, पहिचानको विषयमा बहस गरिन्छ।
यदि पढेर डिग्री हासिल गरेर पैसा कमाइयो भने वाहवाही हुन्छ। यदि डिग्री हासिल नै नगरी कमाइयो भने किन पढ्नु पर्यो र, बेकारमा समयको नाश, खर्चको नाश, मिहिनेतको नाश, जसरी भएनि पैसा कमाउनु त हो नि भनेर तर्क गरिन्छ।
यसले मानिसमा ठूलो विरोधाभास जन्माइदिन्छ पढ्ने कि नपढ्ने भनेर। के पढ्नु भनेको केबल पैसा कमाउनको लागि मात्र हो त? जीवनमा पैसा कमाउनु भन्दा अरु केही गर्न नै सकिँदैन त पढेर?
धेरै व्यक्तिहरू, विशेषगरी काठमाडौं बाहिरका, दुर्गम क्षेत्रमा बसोबास गर्नेहरू बीचैमा पढाइ छोडेर रोजगारीको खोजीमा आफ्नो देश छोडी विदेशिने गर्दछन्, विदेशी भूमिमा गएर आफ्नो रगत पसिना चुहाएर धेरै दु:ख र सास्ती झेलेर पैसा कमाएर स्वदेश फर्किन्छन् र फर्किंदा टन्नै पैसा लिएर आउँछन्।
अनि सबैको धारणा बन्छ, स्वदेशमा बस्ने मानिसहरूसँग तुलना हुन थाल्छ: नेपालमा बसेर यत्रो पढेर केही गर्न सकेको छैन फलानाले पढाइ छोडेर के भो त; त्यत्रो पैसा कमाइराछ, उसले त काठमाडौंमा घर-जग्गा नै किनिसकेछ।
पढेपछि कम्तिमा आफूलाई पुग्ने पैसा त कमाउनु, हेर रामेको हालत जस्ता कुराले पढाइ-लेखाइमाथि अवधारणा बनाइन्छन्। तर दु:खको कुरा नेपालमा शिक्षाको स्थिति कस्तो छ?, कसरी पढाइन्छ ,किन सकिरहेका छैनन् त युवाहरू स्वदेशमा गरिखान?, किन रोजगारका अवसरहरू सृजना गर्न नसकिरहेका भन्ने विषयमा सोच्ने फुर्सद हुँदैन मान्छेलाई।
केही समय अगाडि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भाषण सुनेको थिएँ, जहाँ उनले स्कुल, कलेज तथा युनिभर्सिटी गएर पढ्ने पढाइको खुलेर विरोध गरेका थिए, उनले भनेका थिए "कुनै पनि औपचारिक रूपमा लिइने शिक्षाले मानिसलाई जीवनमा आवश्यक पर्ने कुराहरू सिकाउँदैनन्, बरु मानिसमा फ्रस्ट्रेसन, डिप्रेसन, जस्ता जीवनप्रति निरशाजनक भाव जगाइदिन्छ।"
उनी अमेरिकाको राष्ट्रपति मात्र नभएर एउटा शक्तिशाली धनाढ्य व्यापारी पनि हुन्।
उनको तर्कको आशय यो हो कि हाम्रो स्कुल कलेजहरूले हामीलाई व्यवहारिक शिक्षा प्रदान गर्न सकिरहेका छैनन, उल्टै जीवनमा नैराश्यता उत्पन्न गराइरहेका छन्।
दुई वर्ष अगाडि अमेरिकी लेखक रोबर्ट टी. कियोसाकीद्वारा लेखिएको पुस्तक "रिच ड्याड, पोर ड्याड" भन्ने पुस्तक पढेको थिएँ। उक्त पुस्तकले मलाई धेरै नै उत्प्रेरणा जगाएको थियो। उक्त पुस्तकमा उनले दुइटा धनी र गरिब बाउको तुलना गर्दै औपचारिक शिक्षाको अप्रतक्ष्य ढंगले ब्यङ्ग्य गरेका छन्।
हाम्रो शिक्षा समय सापेक्ष नभएको र शिक्षाप्रति मानिसको गलत अवधारणा रहेको कुरा आफ्नो पुस्तकमा छर्लङ पारेका छन्। त्यसैले आज विश्वका शक्तिशाली देशहरूको शैक्षिक प्रणालीलाई हेर्दा हाम्रो भन्दा विल्कुल फरक देखिन्छ। त्यहाँ औपचारिक शिक्षा लिने गर्छन् तर कुनै पनि एउटै मापदण्डको आधारमा कुनै पनि व्यक्तिलाई मंल्याङ्कन गरिँदैन, र वर्तमानमा भविष्य यस्तो हुन्छ त्यस्तो हुन्छ भनेर ठोकुवा गरिँदैन।
औपचारिक शिक्षालाई निरन्तरता दिनु, नदिनु टुप्पोमा पुर्याउनु, बीचमा छोड्नु व्यक्तिको नितान्त व्यक्तिगत चाहनाको रूपमा लिइन्छ। कसैले टन्नै पैसा कमाउनुमा, नकमाउनुमा पढाइको आधारमा मूल्याङ्कन गरिँदैन। जस्तोसुकै काम गरेर भए पनि व्यक्तिले आफ्नो भविष्य निर्माण गर्ने गर्दछन्, मनलागेको बेला आफ्नो पढाइलाई निरन्तरता दिन्छन्।
कुनै पनि उमेरको हकबन्दी लगाइँदैन। हामी आज तिनै देशहरूको सिको गरिरहेका छौं, तिनै देशमा गएर आफ्नो उच्च शिक्षा लिन खोज्छौं र भन्ने गर्छौं नेपालमा जस्तो होइन।
धेरै मानिसहरू कुनै निश्चित डिग्री हासिल गरेपछि रोजगारीको लागि भौंतारिने गर्छन् र आफूले चाहेको कुरा नपाउँदा छटपटाएर आत्महत्या गर्न विवश हुन्छन्।
यसमा धेरै समाचार छापिन्छन, बहस हुन्छन्, सबैका आफ्ना-आफ्नै धारणाहरू व्यक्त हुन्छन् तर समस्याको चुरो कारण कमैले पत्ता लगाउँछन्।
विश्व हल्लाइरहेका शक्तिशाली व्यक्तिहरूको जीवनी पढ्दा तथा उनीहरूले दिएको तर्कलाई हेर्दा उनीहरू आफ्नो औपचारिक शिक्षामा उत्कृष्ट नभएको तर आफूले चाहेको क्षेत्रमा सफल भएको पाइन्छ।
उनीहरूलाई जीवनको कुनै कालखण्डमा औपचारिक शिक्षामा राम्रो नहुँदा जीवनमा केही गर्न सक्दैन, भविष्य अन्धकार हुनेछ भनेर गलत भविष्यवाणी गरेर हतोत्साही गरेको पाइन्छ तर उनीहरू आफ्नै बलबुता र आत्मविश्वासका कारणले अघि बढेर आफूले रोजेको बाटोमा सफल भएका उदाहरणहरू उल्लेख्य मात्रामा पढ्न, सुन्न र हेर्न पाइन्छ।
धेरै व्यक्ति उच्च ओहोदामा पुगेर पैसा कमाउनको लागि मरिमेटेर पढ्ने गर्छन्, हाम्रो शैक्षिक तथा परीक्षा प्रणालीले गर्ने मूल्याङ्कनमा उच्च अंक ल्याउँछन् तर जीवनले लिने व्यवहारिक परीक्षामा भने सधैं फेल हुन्छन् र जीवनमा आइपर्ने बाधा-अड्चनहरूबाट पार गर्दै अगाडि बढ्न नसकेपछि जीवन कठिन भएको बताउँछन्।
यो उनीहरूको दोष भने पक्कै पनि होइन, किनकी जीवनभर लिने औपचारिक शिक्षामा उनीहरू केवल किताबमा भएको कुराहरू, सिद्धान्त र भनाइहरू मात्र पढ्छन्, त्यही पढाइन्छ त्यही परीक्षामा सोधिन्छ तर जीवन कसरी जिउने, कसरी जीवनमा आइपर्ने भौतिक समस्याहरूको आफैं हल गर्ने जस्ता अतिआवश्यक कुरा कहिल्यै पनि सिकाइँदैन।
घर-परिवार पनि आफ्ना सन्तानले धेरै पढेर भविष्यमा धेरै धन कमाउँछन् भन्ने आशामा आफूसँग भई-नभई सन्तानको लागि पढाइमा खर्च गर्छन्, स्कुल कलेज, युनिभर्सिटीमा पनि जीवन भोगाइ, जिउने तरिका र आत्मविश्वास जगाउने गरी कमै मात्र पढाइन्छ,सिकाइन्छ।
अनि टन्नै पैसा कमाउने आशाले पढिरहेको व्यक्ति र लगानी गर्ने अभिभावक कुनै पनि बिन्दुमा पुगेपछि फ्रस्ट्रेसनको सिकार बन्ने गर्छन्। तर यसको कारण भने पत्ता लगाउने र हल गर्ने चेस्टा बहुत कमैले गर्छन् बरु त्यसलाई अनावश्यक हल्ला र प्रचार-प्रसार धेरैले गर्छन्।
के पैसा कमाउने र जागिर नखाने हो भने कसैले पनि पढ्दैन थिए त?
विश्वले निश्चित मापदण्ड तोकिदिएको छ कुनै पनि पोजिसनमा पुग्नको लागि।
सबै मानिसको एउटै लक्ष्य हुन्छ आफूले चाहेको पोस्टमा पुग्ने र मरिमेटेर लागि पर्छन् तर आध्यत्मिक ज्ञान तथा अन्य कुराहरूमा कमैले मात्र अध्ययन गर्दछन्।
नेपालमा धेरैजसो सरकारी सेवामा काम गर्ने कर्मचारीहरू नाम निकाल्नको लागि धेरै मिहिनेत गर्छन्। चुर्लुम्मै डुबेर रटेर पढेर नाम निकाल्छन् तर नाम निकालिसकेपछि पूरै जिन्दगी सुरक्षित भएको महशुस गर्छन् तर काम भने राम्रो गर्दैनन्।
अधिकांशले आफ्नो औपचारिक अध्ययन सकिएको घोषणा गर्दछन्। तर अपवाद, कतिपय मानिसहरू स्वअध्ययन गरेर होस् या जसरी तसरी आफूलाई हरेक कुरामा अब्बल बनाउने प्रयत्न गर्दछन्।
मानिसमा सदाचारिता, इमान्दारिता, कर्तव्यनिष्ठ जस्ता गुणहरू हराउँदै जान्छ।
के जागिर खानको लागि मात्र पढेको हो त? बर्सौ खर्चिएर लिएको शिक्षाले के सिकायो त? कुनै पोजिसनमा पुग्न र पैसा कमाउनको लागि मात्र पढ्ने हो त? जनावर तथा कीरा फट्याङ्ग्रा नि आफ्नो निश्चित गन्तव्यमा पुगेकै हुन्छन् त। सर्वश्रेष्ठता भएको मानिसमा खै त चेतना?
मेरो एकजना घनिस्ट
मित्र धेरैजसो
समय आफ्नो अध्ययनमा ब्यस्त हुन्छ,
उसले एउटा चरणको
औपचारिक शिक्षा
सकाइसकेको छ। तर
अझैपनी ऊ आफ्नो
अध्ययनलाई निरन्तरता
दिन योजना बुनिरहेको छ, उसको अध्ययनको दाँयारा धेरै नै
फराकिलो छ, आफ्नो
जीवनमा धेरै खुशी
छ र आफुसग जे
छ त्यसमा उसलाई कुनै
गुनासोनै छैन। उसले
आफ्नो अध्ययनको
क्षेत्रलाई सागुरो
घेराभित्र नबाधेर
धेरै फराकिलो
बनाएको छ। उसले
अध्ययनबाट विश्व ब्रमाण्ड बुजिसकेको
छ।उसमा प्राचिनकालदेखी लीएर आधुनिक
बैज्ञानीक युगसम्मको राम्रो ज्ञान छ त। धर्म केहो, मानिसहरुले यसलाई कसरी गलत प्रचार
गरेर गलत प्रयोग गरिरहेका छन भन्ने कुरा राम्रोसग बुझिसकेको छ ।आफुले मनग्गै
भौतिक श्रोत-साधानको
उपभोग गर्न नपाएकोमा
अलिकती पनि असन्तुस्टी र गुनासो
छैन। कैलेकाहिको
हाम्रो बहसमा भन्ने
गर्दछकी ‘पैसा जीवन
जिउनको लागि चाहिने
साधन हो तर
पुरा जीवन र
साध्य भने होइन’।यो सब उसले आफ्नो स्वाध्यनबाट बुझेको हो।
यसबाट के प्रस्ट
हुन्छ भने शिक्षा
पैसा कमाउनको
लागि मात्रा
होइन शिक्षा
त पुरा जीवनको
लागि हो।
यसरी माथिका उदाहरण तथा कुराहरूबाट के प्रस्ट हुन्छ भने हाम्रो शिक्षाप्रतिको गलत बुझाइ तथा हाम्रो अव्यवहारिक शैक्षिक मूल्याङ्कन प्रणालीको कारणले गर्दा हामी अगाडि बढ्न सकिरहेका छैनौं।
अहिलेको युगमा पैसा जीवन जिउनको लागि आवश्यक तत्व बन्दै आइरहेको छ तर शिक्षा पैसा कमाउनको लागि मात्र नभएर जीवनको सर्वाङ्गिण विकासका लागि हुनुपर्दछ।
सिकाइ निरन्तर रूपमा जीवनभर चलिरहने प्रकृया हो। असल तथा सफल जीवनको लागि औपचारिक शिक्षा अतिआवश्यक छ तर त्यसलाई कुनै निश्चित गन्तव्यसम्म पुग्न र पैसा कमाउनको लागि मात्र सीमित राख्नुभएन।
हरेक घर-परिवारले आफ्ना नानी-बाबुलाई जीवनका लागि आवश्यक कुराहरू सिकाउने र स्कुल, कलेज तथा युनिभर्सिटीले अहिलेको समयमा टिक्न सक्ने, बिक्न सक्ने बनाउने हो भने युवाहरूमा नैराश्यता तथा वैराग्यता आउने थिएन कि?
तसर्थ शिक्षा निश्चित डिग्री हासिल गरेर जागिर खानको लागि, पैसा कमाउनको लागि मात्र नभएर असल मानिस भएर सार्थक जीवन जिउनको लागि होस्।
कोही-कसैले पढ्न नपाएर पश्चताप नहोस् कसैलाई पढेर केही गर्न सकिनँ भन्ने नैराश्यता नआओस्।
सबैले शिक्षालाई जीवनको लागि लिने कि?
मानिस जुनासुकै क्षेत्रमा जानको लागि पनि आफूलाई तयार पार्ने शिक्षा नै आजको आवश्यकता हो। जस्तोसुकै काम गरेर भए पनि म आफ्नो जीवन सहजताका साथ जिउछु भन्ने आत्मविश्वास र साहस जगाउने शिक्षा नै आजको लागि अपरिहार्य छ। जस्तोसुकै कठिन परिस्थिति तथा बाधा-अड्चनसँग लड्न सक्ने सामर्थ्य दिने शिक्षा हुनैपर्छ।
विश्वबजारमा आफूलाई टिकाउन र ढाल्न सक्ने शिक्षा हुनुपर्यो। अवश्य पनि पढाइ पैसा कमाउनको लागि नभएर सफल जीवनको लागि हो। राम्रोसँग पढेर असल मानिस बनेर जीवन सुन्दर ढंगले बाँच्न सबैलाई अभिप्रेरित गर्ने शिक्षा आजको आवश्यकता हुनुपर्दछ ।
Comments
Post a Comment
Thank you. I am pleased to hear from you. Please keep motivating me.