Main article was published in Kantipur newspaper. Click below to read: कान्तिपुर
सुरुमा वाल्मीकि रामायण २४ हजार श्लोकको थियो, अहिले झन्डै १ लाख श्लोकको छ (अल्ब्रेख्त वेबर, अन द रामायण, जर्मनबाट अंग्रेजीमा अनुवाद सन् १८७३(, पृष्ठ १०२, एम. विन्टरनित्ज, अ हिस्ट्री अफ इन्डियन लिटरेचर, भोल्युम १, सन् १९२७, पृष्ठ ५००) । त्यस्तै सुरुमा पाँच काण्डको थियो, अहिले सात काण्डको छ ।
पछि थपिएका ती दुई काण्ड थिए बालकाण्ड र उत्तरकाण्ड । यही दुई काण्ड नै हो जसले रामलाई मरणशील मान्छेबाट भगवान् विष्णुका अवतारका रूपमा प्रस्तुत गरेको छ ।
बालकाण्डको सार जो अग्नि पुराणमा दिइएको छ (जीएच भट्ट, पृष्ठ हहहष्) त्यसमा ऋष्यशृंगबारे उल्लेख छ तर आश्चर्यजनक रूपमा राजा सगरबारे केही पनि बताइएको छैन ।
त्यस्तै मिथिला र अयोध्याका राजाहरूको जुन वंशावली उल्लेख छ, त्यसलाई किर्फेलले पद्म पुराणसँग तुलना गरेका छन् । रामायणका दोस्रोदेखि छैटौं काण्डहरूभन्दा बालकाण्ड पुराणहरूसँग अलि निकट देखिन्छ अर्थात् पुराणीय विशेषता बढी देखिन्छ (जीएच भट्ट, पृष्ठ xxxii) । पुराण जो अलि पछिकै रचना हुन् ।
रामायणको बालकाण्डमा रामको कुण्डली दिइएको छ । यो झन् पछि थपिएको अंश हो भन्ने कुरा कसरी स्पष्ट हुन्छ भने भारतीय अथवा हिन्दू पञ्चाङ्गमा बारहरूको उल्लेख गर्ने परम्परा इसाको चौथो शताब्दीबाट मात्र सुरु भएको हो (एचडी संकालिया, द रामायण इन द हिस्टोरिकल पर्स्पेक्टिभ, सन् १९८२, पृष्ठ २१) । भारतीय ज्योतिष परम्पराका धुरन्धर इतिहासकार शंकर बालकृष्ण दीक्षित र रोबर्ट सिवेलले पनि सात बारहरूको प्रचलन ग्रीस, इजिप्ट या चल्दियामध्ये कुनै एउटा देश अर्थात् युरोपेली मुलुकबाट सुरु भएको बताएका छन् (हिस्ट्री अफ इन्डियन इस्ट्रनोमी, भाग २, सन् १९८१, पृष्ठ २७७, द इन्डियन क्यालेन्डर, सन् १८९६, पृष्ठ २) ।
अलेजेन्डरको आक्रमण (इसापूर्व ३२६) र त्यसलाई पछ्याउँदै भएका पछिका आक्रमण (इसापूर्व ३०० देखि सन् २००) का क्रममा ग्रीक (यवन), शक, पार्थियन (पल्हव) र कुसानहरू भारतमा प्रवेश गरेसँगै विज्ञान, कला र संस्कृतिका विद्वान्हरू पनि भारतमा प्रवेश गरे ।
बालकाण्ड र उत्तरकाण्डमा रामलाई विष्णुको अवतारका रूपमा प्रस्तुत गरिएको छ, जबकि दोस्रोदेखि छैटौं काण्डमा रामलाई वीर पुरुषका रूपमा वर्णन गरिएको छ (एम विन्टरनित्ज, पृष्ठ ४९६, हर्मन ज्याकोबी, पृष्ठ ५०, अल्ब्रेख्त वेबर, पृष्ठ ६५, उमाकान्त प्रेमानन्द शाह, द वाल्मीकि रामायण, क्रिटिकल्ली इडिटेड फर द फस्ट टाइम, द उत्तरकाण्ड, सन् १९७५, पृष्ठ ५१) ।
यहाँ स्पष्ट हुनुपर्ने कुरा के भने भारतमा चौथो शताब्दीतिर मात्र अवतारवादको सिद्धान्त विकास भएको हो र यसपछि नै रामलाई भगवान्को तहमा उकालिएको हो (एचडी संकालिया, पृष्ठ २१) । चौथो शताब्दीको मानिने कालिदासको ‘रघुवंश’ पुस्तकले पनि रामलाई विष्णुकै अवतारका रूपमा चित्रण गर्नुले (उमाकान्त प्रेमानन्द शाह, पृष्ठ ५१) यही कुरा पुष्टि हुन्छ ।
बालकाण्डमा विष्णुको मात्र उल्लेख छैन, महादेवको पनि उल्लेख छ । स्कन्द, कार्तिकेय, सदानन र कुमारसम्भवको उल्लेख छ । कुमारसम्भव त कालिदासको प्रसिद्ध कृति भइहाल्यो । शिवका छोराका रूपमा कुमारको कथा इसाको चौथो शताब्दीमा विकास भएको हो । वैदिक साहित्यमा उल्लेख भए पनि स्कन्दलाई स्वतन्त्र देउताका रूपमा पूजा गर्न थालिएको भनेको मौर्यकाल (इसापूर्व ३२२–१८५) मा हो । अनि गुप्तकाल (सन् २७५–४५५) को प्रारम्भमा भारतमा स्कन्द–कार्तिकेयका मन्दिरहरू बनेका छन् तर क्रमशः ओरालो लागेर शैव सम्प्रदायभित्र समाहित हुन पुग्यो (एचडी संकालिया, पृष्ठ २५) ।
त्यस्तै रामायणमा सुरुमा वाल्मीकिलाई ऋषिका रूपमा मात्र देखाइएको छ । तर, बालकाण्ड र उत्तरकाण्डमा वाल्मीकिलाई रामका समकालीन व्यक्तिका रूपमा देखाइएको छ । यसबाट के स्पष्ट हुन्छ भने रामायणमा श्लोक थप्ने पछिका कविहरूका लागि वाल्मीकि पनि हिरो (नायक) भइसकेका थिए (एम विन्टरनित्ज, पृष्ठ ५०१) ।
ग्रीकहरूले दोस्रोपटक आक्रमण (इसापूर्व १८५) गरेर भारत प्रवेश गरेर पाटलिपुत्र, मध्यमिका, राजस्थान नजिकको चितौर कब्जा गर्नुभन्दा पहिले ग्रीक अथवा इन्डोग्रीकका बारेमा भारतीयहरूलाई खास थाहा थिएन । ग्रीकहरूपछि भारत आउनेहरूमा शक र कुशानहरू हुन् । त्यसपछि आभिर, हुणहरू आए र सबैभन्दा पछि आएका हुन् गुजरहरू । रामायणमा पछि आएका यी आभिर र हुणहरूका बारेमा कतै उल्लेख भएको पाइँदैन । त्यसैले बालकाण्ड इसाको दोस्रो शताब्दीभन्दा पहिलेको र दोस्रो ग्रीक आक्रमणपछाडिको हो (एचडी संकालिया, पृष्ठ २३) भन्न सकिन्छ ।
बालकाण्डमा तामा (तम्र), फलाम (कृष्णअयस), सिलावर/चाँदी (त्रपु) र सिसा (शिशक) को उल्लेख छ । यति मात्रै भनिएको छैन, शिवको फलाम/तामाको विशाल धनुवाणको कुरा गरिएको छ, जुन ६ फुट लामो र आठवटा पांग्राले गुडाइन्छ । फलामको यति विशाल निर्माणकार्य चौथो–पाँचौं शताब्दीतिर विकास भएको हो, जसको प्रमाण दिल्लीको फलामे स्तम्भ हो (एचडी संकालिया, पृष्ठ २५) ।
बालकाण्डजस्तै रामायणको सातौं काण्ड अर्थात् उत्तरकाण्ड पनि पछि थपिएको हो भन्ने कुरामा कुनै शंका छैन (एम विन्टरनित्ज, पृष्ठ ४९५) । तर, कति पछाडि थपिएको हो ? यसबारे आंशिक जवाफ कालिदासको ‘रघुवंश’ र भवभूतिको ‘उत्तररामचरितं’ ले दिन्छ । कालिदासले ‘रघुवंश’ मा जुन पद्यांश प्रयोग गरेका छन् लगभग उही पद्यांश रामायणको उत्तरकाण्डमा प्रयोग भएको छ – वाच्यस्त्वया मद्वचनात्स राजा / वह् नौ विशुद्धामपि उत्समक्षम् । मां लोकवादश्रवणादहासीः / श्रुतस्य कि तत्सदृशं कुलस्य ।।
त्यस्तै गरेर ‘उत्तररामचरितं’ मा भवभूतिले केही नयाँ काम गरेका छन् । उनले लव र कुशलाई वाल्मीकिसँगै रामकोमा गएको दृश्यको सट्टा रामलाई चाहिँ बरु आश्रममा गएको देखाएका छन् । यी दुई सन्दर्भका आधारमा एचडी संकालियाले उत्तरकाण्डलाई चौथोदेखि सातौं शताब्दीका बीचमा अथवा अझ त्यसभन्दा अगाडि रामायणको अंश बनिसकेको (संकालिया, पृष्ठ १३०) बताएका छन् । यसमा उमाकान्त प्रेमानन्द शाहले चाहिँ उत्तरकाण्डलाई पाँचौं शताब्दीभन्दा पछाडिको होइन भनेर ठोकुवा गरेका छन् ।
मूलतः गन्धर्वहरूको सन्दर्भलाई आधार बनाएर विद्वान् एचडी संकालियाले रामायणको उत्तरकाण्ड इसाको पहिलो शताब्दीमा रचना गरिएको हो तर्क गरेका छन् । उनका अनुसार, उत्तरकाण्डको अन्तिम सर्गका रूपमा भगवान् विष्णुको आंशिक अंग (अवतार) भएकाले रामलाई कालले स्वर्गमा फर्कन अनुरोध गरेको भन्ने बखतसम्म निरन्तर थप्ने कार्य भइरहेको थियो । यसरी नै बालकाण्डमा पनि राम र उनका भाइहरूसहित चारजनालाई नै विष्णुको अंशका रूपमा देखाइएको छ । यसबाट जो कसैले पनि पूर्ण आत्मविश्वासका साथ भन्न सक्छ कि बालकाण्ड र उत्तरकाण्ड एकै समयमा अझ एकै व्यक्तिद्वारा रचना गरिएको हो ।
मूलतः गन्धर्वहरूको सन्दर्भलाई आधार बनाएर विद्वान् एचडी संकालियाले रामायणको उत्तरकाण्ड इसाको पहिलो शताब्दीमा रचना गरिएको हो तर्क गरेका छन् । उनका अनुसार, उत्तरकाण्डको अन्तिम सर्गका रूपमा भगवान् विष्णुको आंशिक अंग (अवतार) भएकाले रामलाई कालले स्वर्गमा फर्कन अनुरोध गरेको भन्ने बखतसम्म निरन्तर थप्ने कार्य भइरहेको थियो । यसरी नै बालकाण्डमा पनि राम र उनका भाइहरूसहित चारजनालाई नै विष्णुको अंशका रूपमा देखाइएको छ । यसबाट जो कसैले पनि पूर्ण आत्मविश्वासका साथ भन्न सक्छ कि बालकाण्ड र उत्तरकाण्ड एकै समयमा अझ एकै व्यक्तिद्वारा रचना गरिएको हो ।
Comments
Post a Comment
Thank you. I am pleased to hear from you. Please keep motivating me.