शिक्षा, शिक्षक र शिक्षार्थी २

शिक्षा, शिक्षक र शिक्षार्थी २


      एक पटक म कक्षा ४ मा पुगेकाे थिएँ, एउटा केटाे करायाे, "सर याे चुइङ्गम खाँदै छ"
                                   "तिमीसँग छ भने तिमी पनि खाऊ"
                 "वाह सर त क्या बबाल", ऊ करायाे । सायद उसले यस्ताे जवाफ कहिल्यै सुनेकाे थिएन । अर्काे एक दिन दुई केटाहरु लड्न थाले । मैले छुट्याउन खाेज्दा उनीहरुले मलाई लडाए । मलाई के गरूँ भयाे । सायद दुई थप्पड लगाइन्छ यस्ताे अवस्थामा तर मैले केही भनिनँ । भाेलिपल्ट केही विद्यार्थीले , "थप्पड लगाउनुहुन्छ भन्ने साेचेकाे मैले त", भन्दै थिए । त्याे घट्ना हुँदा मलाई बुद्धकाे एउटा कथा याद आएकाे थियाे- एक पटक उनी कुनै रुखकाे छायाँमा ध्यानमा लिन थिए । केही बच्चाहरु  त्याे रुखकाे फल झार्न ढुङ्गाले हान्दै थिए । एउटा ढुङ्गाले लागेर उनकाे टाउकाे फुट्याे र रगत बग्याे । उनले शालिन  भएर आँखा खाेले र मन्द स्वरमा भने, "मैले तिमीहरुकाे आनन्दमा चाेट पुर्याएकाेमा र बिना अर्थ डराएकाे माफ गर ।"
     हामीले हाम्रा बच्चाहरुलाई कहिलेकहिले कक्षामा खेल्न दिँदा, खान दिँदा वा हल्ला गर्न छुट दिँदा के नै बिग्रन्छ र ? तर हामी उनीहरुलाई आफ्नाे अस्तित्त्व चिन्न सिकाउनुभन्दा पनि हामीले चाहेकाे मात्र बनाउन खाेज्छाैँ । जब कि हामी पनि उनीहरुबाट धेरै सिक्न सक्छाैँ । पढाई र रटाई बिचकाे सार्थक भिन्नता के हाे भनेर हाम्राे समाज, विद्यालय, अभिभावक, शिक्षक र स्वयम् विद्यार्थीले कहिले बुझ्ने ? एक पटक मैले कक्षामामा टेक्स्ट बुक बाहेक कतिकाे अन्य पुस्तक पढिन्छ त भनेर कक्षा १० काेलाई साेधेँकाे थिएँ । एक जनाले- जीवन काँडा की फूल, भनेकाे सम्झन्छु म । धेरैजसाे स्कुलमा विहानकाे ६ बजेबाट साँझकाे ६ बजेसम्म ८ वटा पुस्तकहरुसँग मात्र पाैठेजाेरी गर्न लगाइन्छ, र यसैमा समाज अनि अभिभावक पनि प्रया: खुसि छन् । राम्रा पुस्तक पढ्न नजाने पनि clash of clan (COC) खेल्न र चुराेट तान्न भने उनीहरु आफैँ सिकिसक्छन् । मलाई भने सानैमा पुस्तकसँग नशा बसिसकेकाे थियाे । कक्षा १मा पढ्दा सम्झना मिसले हामीलाई सुनकेस्रा र मुना प्रत्येक महिना पढ्न ल्याइदिनुहुन्थ्याे र हामी सबैले पालैपालाे पढ्थ्याै ती पुस्तक । यसरी याे नशा अझैै मभित्र रहेकाे छ । कक्षा १० सम्म पुग्दा त मैले ओथेल्ले, ईन्भिजिबल म्यान, शिरिषकाे फूल, तीन घुम्ति, उर्वशी, सेताे बाघ, शकुन्तला आदि पढ्न भ्याईसकेकाे थिएँ ।
     मैले एक दिन उनीहरुलाई नै भनेकाे थिएँ कि, "१३ वर्षकाे स्कुले पढाइपछि  तिमीहरुले कुनै पनि सामान्य विषयमा एक अनुच्छेद लेख्न, दुई मिनेट बाेल्न र पाँच मिनेट कसैसँग सम्वाद गर्न नसके यतिका वर्षकाे पढाईकाे केही काम छैन ।" संवाद र बाेल्ने कुरामा त धेरैजना अगाडि बढ्नै चाहेनन् तर लेख्न भने उनीहरुले अरुकै सारेर भए पनि पूरा गर्न खाेजिरहे । हाम्राे प्राचीन सभ्यताकाे गुरु-चेलाकाे सम्बन्ध कहाँ हरायाे ? आजभाेली त हामी हाम्रा विद्यार्थीहरुलाई रटाएर हुन्छ कि, थरकाएर हुन्छ  कि, सजाय दिएर हुन्छ कि हामीले अह्राएकाे काम गर्न र परीक्षामा नम्बर ल्याउन लगाएरै छाेड्छाैँ । काे कुन कुरामा पाेख्त छ भन्दा पनि कसले कति नम्बर ल्यायाेमा समाज, अभिभावक, स्कुल, विद्यार्थी र स्वयम् शिक्षक दाैडन्छाैँ त्यसैले त आज शिक्षित नागरिक बढे पनि असल नागरिककाे संसारलाई कमी छ । एक पटक मेराे एक गुरुले कक्षा १२मा पढ्दा भनेका थिए, " संसारकाे सबैभन्दा मूर्ख शिक्षक हाे किनकि ऊ विद्यार्थीलाई आफूले जानेकाे साेध्छ अनि उत्तर नपाए रिसाउँछ ।"
      एक दिन मैले कक्षा ९ र १० काे विद्यार्थीलाई एउटा खेल खेलाएकाे थिएँ, जहाँ केटीले अनि केटाले एक अर्काेलाई 'आई लभ यू' भन्नुपर्ने । निकै अप्ठ्याराे गरेर बल्लबल्ल भने उनीहरुले । जब कि उनीहरु मध्ये कतिले त १० वर्षभन्दा बढि समय एकसाथ यही स्कुलमा बिताएका थिए । अब यति सानाे कुरा भन्न किन गाह्राे त ? जब कि स्कुले किशाेर-किशाेरीहरु प्रेमकै नाममा झगडा गरेर मृत्युसम्म पुगेकाे हामीलाई थाहै छ । यस्तै कक्षा ५,६,७ मा विद्यार्थीहरुकाे जुठाे पानी खाइदिन्छु । उनीहरु अनाैठाे मान्छन् । म उनीहरुलाई याे अनावश्यक कुराहरु गलत हाे भन्ने सिकाउन चाहन्छु । उनीहरुले अहिले नबुझे पनि कुनै दिन बुझ्लान् ।जुठाे-चाेखाेकाे अर्थ नबुझ्ने उनीहरुलाई कसले सिकायाे यस्ताे वैचारिक विभेद । हाे यहीबाट यसरी छुवाछुत, धार्मिक विभेद आदिकाे सुरुवात भएकाे हाे हाम्राे समाजमा ।।
      अन्त्यमा मैले धेरै शिक्षकहरुले पढाई सकेपछि विद्यार्थीहरु भेट्दा वास्तै नगरि हिँडेकाे वा नबालेेकाे आदि गुनासाे सुन्ने गरेकाे छु । याे गुनासै किन पाे हाै ? शिक्षक र विद्यर्थीबिच त नाैका र बटुवाकाेजस्ताे पाे सम्बन्ध हुन्छ त । अनि कुन बटुवाले नाैकाेकाे फर्केर नमस्कार गर्छ र ? वटुवाले त आफ्नाे आवश्यकतामा मात्र सम्झन्छ नाैकालाई । अनि यस्ताे हुनुमा हामी आफैँ दाेषि छाैँ किनकी हामीले उनीहरुकाे जीवनमा ठाेस परिवर्तन गर्न नै सक्दैनाैँ, केवल रटाउन मात्र हामी सिमित हुन्छाैँ र पारिएका छाैँ । तर हामी प्रयास त गर्न सक्छाैँ नि, हकि ? हाै ईतिश्री ।।।।

नाेट: भाग एक पढ्न यहाँ क्लिक गर्नुहाेस्शिक्षा, शिक्षक र शिक्षार्थी

२८. असार. २०७४/ १२. जुलाई. २०१७/ बुधबार/ नखुडाेल

Comments