गाउँमा रङ्गमञ्चको साक्षी बन्दा...

गाउँमा रङ्गमञ्चको साक्षी बन्दा...

नेचुरल्लीदीपक







२०७२ को अन्तिम दिन अर्थात् चैत्र ३० गते शिल्पी नाट्य समूहमा सामेल भएर विराटनगरको झोराहाट जाने अकल्पित अवसर मिल्यो । सन्दर्भ थियो झोराहाट नाट्य केन्द्रको भोलिपल्ट गरिने उद्घघाटन कार्यक्रम । सोही नाटकघरमा प्रसिद्घ इटालेली नाटककार कार्लो गोल्डोनीको कमेडी नाटक; द मिस्ट्ररेस अफ ईनकाे नेपाली रुपान्तरण पाहुना घरकी साहुनीको एक साता प्रदर्शन गरिने निश्चित् कार्यक्रम थियो । उक्त नाटक सौभाग्यवश मैले रुपान्तरण गर्ने मौका मिलेकोले म पनि यो टोलीसँग सामेल भएँ । साथमा हुनुन्थ्यो लेखक कुमार नगरकोटी, नाट्यहस्ति सुनिल पोख्रेल, नाट्य परिषद्का सदस्य खेम नेपाली, डा. शिव रिजाल, नाट्यकर्मी टङ्क चौलागाई, शिल्पि प्रचार प्रसार विभाग प्रमुख चन्द्र प्रसाद पाण्डे, प्रभास भाइ, ध्रुपद गायक सोउ र विशाल भट्टराई, मेघराज अधिकारी अनि ग्रिष्मिल, सन्देश र अभिनित बाल–सहयात्री, साथै ग्रिष्मिल र अभिनितका आमाहरु पनि ।


         यात्रा लामो र थकानपूर्ण भएतापनि रोमाञ्चक रह्यो । अझ झोराहाटमा स्थानिय र त्यहाँका कलाकार भाइबहिनीहरले दिएको न्यानो माया सम्झिरहन मन लाग्छ । भोलीपल्ट, १ बैशाख २०७३ को दिन नाटकघरको उद्घाटन गरियो । यसका लागि काठमाण्डौँबाट आउनुभएका थिए प्रो. अभि सुवेदी र अग्रज कलाकार हरिहर शर्मा । नाटकघर स्थानिय थारु शैलीमा निकै राम्रो गरेर बनाइएको रहेछ । राम्रा चित्रहरु भित्तामा कोरिएका थिए । अझ प्रवेश द्वारमै बनाई राखिएको हलोको प्रतिमाले अलग्गै शोभा दिएको थियो ।

        उद्घाटन पश्चात् कविता वाचन कार्यक्रमले झोराहाटको गर्मीमा अझ बढी उर्जा थपेको थियो । मनु मञ्जिल, सिमा आभास, गण्डकी पुत्र लगायत अन्य कविहरुले कार्यक्रमको उत्साह बढाएका थिए । त्यसपछि नाटक पाहुना घरकी साहुनीको मञ्चन गरियो । नाटक राम्रै बनेको रहेछ । कलाकारहरले केही तिखरता ल्याए अझ राम्रो हुनेछ । जे भए पनि नाटकले उठाएको नारीको सामाजिक स्थान र पुरुषहरुका नारीप्रतिको आशक्ति भावलाई सबै दर्शकले हाँसी–हाँसी साथ र समर्थन गरे अनि गर्मीलाई बिर्सीदिए । त्यसपछि विशाल र सोउको ध्रुपद गायनले माहोल मज्जाले तरङ्गित पारिदिको थियो । हामी सबै मन्त्रमुग्ध भएका थियौँ । यसरी उत्साहपूर्वक त्यस दिनको कार्यक्रम सकियो । भोलीपल्ट, ०२ गते हामी आरोहण गुरुकुल (विराटगर)को नाट्य–विमर्श कार्यक्रममा सहभागी भएर रातभर यात्रा तय गरि काठमाण्डौँ फर्कियौँ ।



       शिल्पी नाट्य समूहको गाउँमा रङ्गमञ्चको  सपना यसरी पूरा भयो । यो त सिङ्गो सपनाको एउटा साकार पाटो मात्र हो । अझ केही वर्षभित्र अन्य नेपाली गाउँहरुमा यस्ता रङ्गमञ्चहरु स्थापना हुन बाँकी नै छ  । यो शिल्पीको अत्यन्त सकरात्मक कदम हो किनभने नाटकले भोगाई र जीवनलाई अभिनयको माध्यमबाट दुरुस्त उठान गर्छ । तसर्थ झोराहाटमा स्थापित पहिलो गाउँको नाटक-घरले धेरै राम्रा कलाकारहरुलाई जन्म दिनेछ र हुर्काउनेछ साथै नाटको माध्यमबाट त्यहाँका धेरै मन–मस्तिष्कलाई अझ सफा, चेतनशिल र उज्ज्वल पार्नेछ । नाटक केवल रमाइलोको लागि मात्र हुँदैन यसले थाहै नपाइ बालकदेखि वृद्घासम्मको चेतनालाई परिस्किृत गर्ने काम गरिरहेको हुन्छ । त्यसैले झोराहाट नाट्य केन्द्रले झोराहाटलाई चेतनाको प्रकाशले बिस्तारै उज्यालो पार्दै लानेछ । यो पुण्य कार्य सफल पार्न सहयोग गर्ने ब्रुसलाई सहृदय धन्यवाद र अझ अरु नयाँ–नयाँ यस्ता सपना पूरा गर्न शिल्पिलाई अग्रीम शुभकामना । अन्तमा शिल्पीको यो अद्भूत–स्वप्नको एक साक्षी बन्न पाएकोमा म आफूलाई भाग्यशाली सम्झन्छु ।।  


Comments