पूजा

पूजा


नेचुरल्लीदीपक



पूजा त्यसलाई गरिन्छ जसलाई हामी श्रद्धा, विश्वास अनि आदर गर्छौँ । पूजा कुनै व्यक्ति वा वस्तुलाई नगरेर त्यसभित्रको सद्गुणलाई गरिन्छ । पूजा गर्नुको अर्थ कसैको सद्गुण आफूभित्र समाहित गर्ने ईच्छा प्रकट गर्नु हो, साथै प्रयास पनि । पूर्विय अनि पाश्चात्य दर्शनमा पूजाको आ—आफ्नै महत्त्व छ अनि धार्मीक आधारमा पूजाको विशिष्ट शैली र महत्त्व छ । धार्मीक र दार्शनिक पथको आधारमा मात्र नभएर पूजाले मानिसलाई आफ्नो सामान्य जीवनमा पनि सधैँ प्रभाव पारेको हामी देख्छौँ ।

पिपलको पूजा गर्नुमा आफ्नै विश्वास होला र मान्यता पनि, तर पिपलको आफ्नो गुण नै यो पूज्य हुनुको कारण हो । लामो अवधि जीवित रहनु अनि धेरै प्राणवायु उत्पादन गरेर सारा जीवहरुको जीवन रक्षा गर्ने यसको गुणले नै यो पूज्य भएको हो । साथै यसलाई पूजा गर्नुको अर्थ यसको अस्तित्त्व स्विकार गर्नु हो । अर्थात् हामी मानव वनस्पति नभै जीवित रहन सक्दैनौँ भन्ने यथार्थतालाई आत्मसाथ गर्नु नै हो । प्रकृतिकाेे हरेक जीव—जीवात्माको यस्तो गहन सम्बन्ध हामीले बिर्सदै गएका छौँ ।

मानौँ कोही काक्राका विरुवा रोप्छ । राम्रै मल पानी दिन्छ र स्याहार्छ पनि । मौसम पनि अनूकुल नै छ । तर के यति मात्रैले अब फल फल्ला त ? सायद नहोला । पुतली, मौरी अनि भवँराजस्ता साना जीवहरुले परागसेचनमा मद्यत गरेर नै हो फल फल्ने । अब सोचौँ, कति  महत्त्व रहेछ त मानव जीवनमा यी साना जीवहरुको पनि ? के झुस्लेकीराले झुस बिझाउँछ भनेर यसलाई मार्नु बुद्धिमानी होला त अब ? यसरी जोडिएका छौँ हामी जीव—जीवाणु एक—अर्कोसँग ।

जङ्गली बाघ हरिणको शिकार गर्छ । शिकार गर्नु बाघको प्रकृति हो । सबै हरिण जीवित रहे वासस्थान र आहारमा कमि हुन्छ, उसैलाई । तर शिकार गर्दा बाघ हरिणको झुण्डमा कम्जोरलाई ताक्छ बाघ। बलियो त्यो झुण्डको नेता हो भन्ने बाघ बुझ्छ । हरिणको झुण्ड जीवित रहन उसको नेता जीवित रहनुपर्छ, नत्र घट्नेछ हरिणको सङ्ख्या । जसले र्दा बाघ कालान्तारमा भोकै रहन्छु भन्ने बुझेर ऊ स्विकार गर्छ हरिणको अस्तित्त्वलाई । हामी मानवमा बिस्तारै यो चेत हराएको छ । थोरै मात्र छन् बाघ—चेतना भएका मानवहरु आज ।

पूजा गर्दा धार्मीक आधारमा आ—आफ्नो रीतिको विकास गरे मानवहरुले । ईश्वरलाई पूजा त विश्वास र श्रद्धाले गरे पुग्नुपर्ने हो तर बलि र भेटीको आविष्कार गरे मानवले । कसैले ईश्वर निराकार छ भन्ने दर्शन बनाए कसैले अनेकौँ प्रतिमाहरु बनाए । बुद्धको मूर्ती र गुम्बा, ईसाइको चर्च, येशुको मूर्ती र प्रभुभोजमा खाने रोटी र दाख मद्य, इस्लामको मस्जिद र हिन्दुहरुको मन्दिर र प्रतीमाहरु ईश्वरप्रतिका विश्वासको प्रतीक हुन् । विश्वास र श्रद्धा भए ईश्वर सर्वव्यापक छन् भन्ने दर्शनको उपज हुन् यी आविष्कारहरु किनकी मानव मस्तिष्कभन्दा परको बुझाई र अस्तित्त्व नै ईश्वर हो भन्ने माने धेरैले ।

कलाको विकाससँगै काठ, ढुङ्गा, कागज आदि प्रयोग गरेर मूर्ति र चित्रहरु बनाए मानवले र त्यसैमा ईश्वरत्त्व प्राप्त गर्न चाहिने गुणहरु समाहित गरिदिए । अनि नाम दिए अनेकौँ ईश्वरको । तर हामीले बिस्तारै बिर्सन थाल्यौँ त्यो ईश्वरत्त्वलाई ।

उदाहरणका लगि लिऔँ सिद्धीका ईश्वर गणेशकोः- सानाे आँखा, ठूलाे कान, ठूलो भुँडि, सानो मुख, मुसा अनि अन्य वस्तु र हतियारसहित देखा पर्छन् उनी । यी सब प्रतीक हुन्;- साना आँखाको अर्थ गहन दृष्टि, ठूलो कान भन्छ ध्यान, सानो मुखको अर्थ हो अल्पभाषी, ठूलो भुँडीले सारा जीवनका कटुता सहजै पचाउनु भन्छ अनि मुसा मनको प्रतीक हो । मन चञ्चल छ । यही मनलाई सहि मार्ग दिनुपर्छ । साथै उनकाे अन्य औजारहरुको पनि भिन्न अर्थ छन् । एकछिन गणेशको मूर्ती अगाडी झुक्दैमा वा ढोक्दैमा सिद्धि मिल्ला र ? जबसम्म हामीले उनको हरेक प्रतीकको ज्ञान र दर्शनलाई आत्मसाथ गर्न सक्दैनौँ हाम्रो पूजाको सार हुन्न । हो हामी यसरी टाढिदैछौँ ईश्वरत्त्वबाट ।  गणेशको यही दर्शन बोक्छ लाफिङ्ग बुद्ध वा मैत्रेय बुद्धले पनि ।  चाहे पूजाको रीति जे होला यसको ध्येय एउटै छ, त्यो हो पूज्यको सद्गुण आफूमा समाहित गर्ने चाहना प्रकट गर्नु ।

तर बिडम्बना यो छ कि, अझ पनि हाम्रोमा विभेद विध्यमान छ । हामी निश्चित् समूदायले (दलित) बनाईदिएको कला र वस्तुहरुको पूजा गर्छौँ तर उनीहरुलाई तिरस्कार गर्छौँ । मन्दिरभित्र प्रवेश पनि निषेध छ । यी समुदाय त कलाकार हुन् तर किन घृणा गर्छौँ हामी ? एकातिर उनिहरुले नै सिर्जना गरेको कलाको पूजा गर्छौँ हामी तर ईश्वरकै सिर्जना उनिहरुलाई भने अपमान गर्छौँ हामी । किन ? यो कतिसम्मको ढाेँगिपन हो यो ? के उनीहरुको कला पूज्य छैनन् र ? अब उनीहरुले यो दासता स्विकार्न छोड्नु पर्छ र गर्व गर्नुपर्छ आफ्नो अस्तित्त्वलाई ।।


 

२७. जेष्ठ. २०७२/ १०. जून. २०१५/ बुधबार/ नखुडाेल

Comments

  1. राम्रो लेखेछस। मन पर्यो ।मेरो नि बुझाइ यहि छ है ।यो लेख धेरैलाई share गर अनि अन्धबिस्वास हटाइदे। धन्यवाद छ तलाइ राम्रो र चित्त बुझ्ने कुरा लेखेको मा।

    ReplyDelete
  2. हाहा हवस बाहुनि। धन्यवाद

    ReplyDelete

Post a Comment

Thank you. I am pleased to hear from you. Please keep motivating me.