Link- https://nayaonline.com/2019/12/18/37825/
नेचुरल्ली दीपक अंग्रेजी साहित्यमा स्नातकोत्तर गरेका अनुवादक, कवि, कथाकार तथा नाटककार हुन् । उनले यसअघि शिल्पी थियटरमा प्रस्तुत इटालेली नाटक ‘पाहुना घरकी साहुनी’को नेपाली संस्करण लेखेका थिए । यतिबेला झोराहाट, विराटनगरमा प्रदर्शन भइरहेको नाटक ‘मालिनी’का अनुवादक पनि उनै हुन् । उनले अन्य नाटकहरूमा पनि काम गरेका छन् । उनको लेखन रहेको नाटक ‘मधेशमा रावा’ आगामी पौष ११ गतेदेखि ललितपुरको नखिपोटस्थित बेरी जोन थियटरमा नियमित रुपमा प्रदर्शन हुन लागिरहेको छ । मुस्कान राईको निर्देशन रहेको यस नाटकमा कलाकारहरु सुमन राई, रुपेश झा, प्रतिष्ठा केसी, निशान खत्री, हेमन तण्डुकार, प्रमोद रावल, अमिता ठकुरी, आरपी पोखरेल, रोयल रायमाझी, आकृत दवाडी, आदित्य मिश्रा लगायतको अभिनय रहेको छ ।
यसै सन्दर्भमा नाटकका लेखक नेचुरल्ली दीपकलाई हामीले पाँच प्रश्नहरू राखेका छौं ।
Play- Madheshma Rawa
Penned- naturallydeepak
Direction- Muskan Rai
Video- Bachchu Himanshu
#Production of Barry John Acting Studio Nepal.
#मधेशमा रावा # नेपाली नाटक
Actors
Rupesh Jha, Suman Rai, Pramod Rawal, Rp Pokhrel, Royal Raya, Heman Tadukar, Nishan Khatri, Amita Rajylaxmi, Pratishtha Kusum ana Aditya.
A play that tells story of village of terai region near to border of Nepal. The story is about gender violence, illegal activities insurgency and conflict based on race.
‘मधेशमा रावा’ कस्तो प्रकृतिको नाटक हो ?
यो एउटा मौलिक प्रकृतिको नाटक हो । मधेशको कुनै गाउँको कथा । यस नाटकमा मैले सामाजिक अन्याय, हिंसा, शक्तिको दुरुपयोग, अपराध र अन्य धेरै यथार्थ कुराहरूलाई उजागर गर्ने जमर्काे गरेको छु । सामान्य मानिसको कथालाई देखाउने प्रयास गरेको छु । कथाका पात्रहरू किसान, रिक्सा चालक र सामान्य सामाजिक अभियन्ताहरू छन् । भाषा र परिवेश मधेशको भएतापनि यो कथा हरेक नेपालीको हो । महिलाहरू र आर्थिक रुपमा विपन्न परिवारहरू, समाजमा सधैँ उनीहरू दमित र दुःखी हुनु परिरहेको छ , उनीहरूको कथा यसमा छ ।
नाटकका पात्रहरू चयन गर्दा ‘रावा’ र ‘सलहेस’ जस्ता नामनै किन प्रयोग गर्नुभयो ?
‘रावा’ खोटाङ्गको एउटा प्रसिद्ध खोला हो । खोला जहिल्यै पहाडबाट बगेर मधेश झर्छ । यसर्थ, रावा मधेशमा हुनु भनेको पहाड र मधेशको मिलन हो । अर्थात यी दुईबीचको पुरानो सम्बन्धको मिठास हो । साथै नाटकमा प्रयोग गरिएका सलहेस र मालिनी प्राचीन नाम हुन् । सलहेस एक शक्तिशाली राजा थिए । उनी दुसाध जातिद्वारा अझैपनि पूजिन्छन् । उनले किराँती राजासँग मितेरी साईनो गाँसेका थिए र उनीहरू भोटसम्म लड्न गएको कथापनि छ । यस नाटकका पात्र रावा पहाडबाट झरेर मधेशमै बसेको छ । उसलाई अब पहाडिया हुँ भन्ने ज्ञान हुन छोडेको छ । ऊ हरेक अर्थमा मधेशी हो । तथापि केही घटनाहरूले उसलाई आफ्नो अस्तित्वमाथि डर र शङ्का लाग्न थाल्छ ।
यस नाटकले कुन समय र स्थानलाई प्रतिनिधित्व गर्दछ ?
यो नाटकले ०६४–६५ सालको मधेश आन्दोलनपश्चात खडा भएको पहिचानको सवाललाई छुने प्रयास गरेको छ । पहिल्यैबाट मिलेर बसेको पहाडी र मधेशी मूलका मानिसहरूमा पैदा भएको द्वेष र घृणा केही स्वार्थी मानिसहरूका कारणले भएको हो । नाटक सीमा छेउको एउटा गाउँको कथा हो । जहाँ अनेक घटनाहरू भइरहन्छन् । त्यो ठाउँ अस्थिर छ । तथापि सलहेसजस्ता पात्रहरू आफ्नो गाउँलाई सुन्दर बनाउन प्रयासरत छन् । साथै हाम्रो समाजमा हुने नारीमाथिको अन्याय, भूमिगत सङ्गठनको आपराधिक गतिविधि पनि आउँछन् नाटकमा । यस नाटकको विशेषता भनेको एउटा कथामामात्र केन्द्रित नभएर बहुकथालाई उजागर गर्नु हो । किनकी हामी सबैको जीवन त अस्थिर र बहु–आयामिक हुन्छ ।
नाटक लेखनदेखि यसलाई प्रस्तुत गर्ने सवालमा के कस्ता चूनौतीहरूको सामना गर्नुभयो ?
म पहाडी मूलको (राई) भएकोले कला, सँस्कृति, रितिरिवाज, भेषभुषालगायतका कुराहरूलाई सही अर्थ दिन नसकूँला भन्ने डर थियो र छपनि । यद्दपि यस नाटकमा नेपाली भाषानै प्रयोग गरिएको छ । यसमा दुई कारण छन् । पहिलो, यहाँ अर्थात राजधानीमा मधेशको मौलिक भाषा सबैले बुझ्दैनन् । दोस्रो, एउटा भाषालाईमात्र प्रयोग गर्दा अर्काे भाषा हराउने । तसर्थ, सम्पर्क भाषा नेपालीलाई लिइयो नाटकमा । अब मधेशी मूलकाले नेपाली बोल्दा लवज त मधेशी आउँछनै । जसरी राइ–लिम्बुले बोल्दा आआफ्नै लवज हुन्छ । तर अहिले हामी पहाडी ब्राह्मण जिब्रोको सुगा रटाई गर्न लागिरहेछौँ । हामीले आफ्नो लवजमा बोल्दा हाम्रो सम्मान र नेपाली भाषाको विकास हुन्छ । यसरी उनीहरूकै सिको गर्नु त हामी मातृभाषा बोल्नेहरूमाथिको अन्याय र अपमान हो । हामीले त हाम्रो लवजमा बोल्नुनै हाम्रो गौरव हुनुपर्छ । तथापि हामी त्यही शुद्ध जिब्रोको नक्कल गर्न मरिहत्ते गर्दैछौँ । यसमा हाम्रो भन्दापनि शक्ति र सत्ताले बनाइदिएको मानसिकता दोषी हो । जसले गर्दा हामी आफ्नो लवजमा बोल्न लाज मान्छौँ । तर, केवल हँसाउनमात्र लवज प्रयोग गर्नु अपमान हो । जुन हामीले नेपाली चलचित्र र टेलिचलचित्रमा प्रयोग भइरहेको देख्दै आएका छौँ । यसमा हामी सचेत छौँ । नाटकमा रावापनि यही लवजमा बोल्छ । तर नाटकमा धेरै कलाकार गैरमधेशी भएकोले भुलबस केही गल्ती भएमा माफी चाहन्छौँ । यस नाटकमा केही मधेशी कलाकारपनि हुनुहुन्छ । उहाँहरूले हामीलाई मद्दत गरिरहनुभएको छ ।
दर्शकले यो नाटक किन हेर्नुपर्छ ?
नाटकको कथावस्तु हाम्रै गाउँठाउँको हो तर मैले यस्तो छ र हुन्छमात्र नभनेर यसो गरे कसो होला, यस्तो गर्न सकिएलाकि र यसोपनि गर्न सकिन्छ भन्नेजस्ता प्रश्नहरू उठाएको छु । र, नयाँ प्रयोगहरू पनि गरेको छु । अर्थात दर्शकहरूलाई आफैंले सोच्ने ठाउँहरू पनि छोडिदिएको छु , नकि सबै उत्तर लेखकलेनै दिनुपर्छ ।
यसकारण यो नाटक एकपटक सबैले हेरिदिनुहुनेछ भन्ने मेरो अपेक्षा छ ।
Comments
Post a Comment
Thank you. I am pleased to hear from you. Please keep motivating me.