अनुलिशाको महिनवरीको अनुभव
अनुलिशा ऐले एउटा पारिपक्व महिला भाइसकेकी छे। सानो बेला अज्ञानता र अशिक्षाको कारण उसले महिनावरी हुँदा धेरै पीडा र विभेद भोगेकी थिई। धेरै समयपछि आज उसले आफ्नो ती तिता अनुभवहरु नडराइकन राख्दै छे।
म एक असल छोरी थिएँ, बाबु आमाकोलागि, गुरुहरुकोलागि म एक जेहेन्दार र अनुशासित विद्यार्थी थिएँ। स्कुलमा धेरै राम्रो पढ्ने र अनुशासित भएका कारण सबैबाट राम्रो माया पाएकी थिएँ। समय आफ्नै गतीमा बित्दै थियो। म कक्षा ९ को मध्य त्रैमासिक परीक्षाको तयारीमा निरन्तर लागिरहेको थिएँ। म भर्खर किशोर अवस्थामा प्रवेश गरेको थिएँ। मलाई मेरो शरिरमा आएको कुनै पनि परिवर्तनकाे ख्याल नै थिएन। म त पूरै अनविज्ञ थिए। बस पढाईमा ध्यान दिन्थेँ। एक दिनको कुरा हो म स्कुलबाट घर फर्किरहेको थिएँ अचानक मैले मेरो शरिरमा अनौठो अनुभव गरेँ ।
मेरी, आफूभन्दा २ वर्षले सानी बैनी पनि सँगै स्कुलबाट मेरो साथमै अारहेकी थिई। अनि मेरो कुरा उसलाई भनेँ। ऊ झसङ्ग भएर झस्की र डराएर भनी “ला तँ त पर सारीस् । अब खत्तम भयो।” अनि मलाई त्यही कतै लुकेर बस्न सल्लाह दिएर ऊ घरमा खबर गर्न गई। सुनेको थिएँ केटीहरु पहिलो पटक महिनवारी हुँदा घरमा बस्न हुन्न , घरका दाजुभाइ र बाबु, हजुरबाजस्ता घरका पुरुषहरुलाई हेर्न र छुन हुन्न, पूरै अछुत हुन्छ भनेर। मेरो मनमा अनगिन्ती डरहरुले डेरा जमाइसकेका थिए । म डरले थुरथुर काँपिरहेको थिएँ। म पूरै बेचैन अवस्थामा बैनिको पर्खाइमा बसिरहेको थिएँ।
केही समयपछि हस्याङफस्याङ गर्दै बैनी अाईपुगी र आत्तिदै भनी तँ त घरमा बस्न हुन्न रे ममीले भनेको तल काइँली आमाको घरमा जा रे। म तेरो लुगा, कपडा लिएर आउँछु यही बस। म पूरै ढल्न लागेको थिएँ। पुष-माघको बेला थियो छिट्टै अधेँरो हुन लगेको थियो। दिन ढल्केर साँझ परिसकेको थियो। फेरी बैनी घरतिर गई म बाटोको कान्लामुनी लुकेर डरले काँपेर बसिरहेँ। एकछिन पछी बैनी आई मेरो कपडाको झोला बोकेर।
अनि हामी लाग्याैँ तल घरको काइँली आमाको घर तिर। काइँली आमाको घर मेरो घरभन्दा धेरै तल थियो । जहाँ हाम्रो समुदायको कसैसँग नि देख्नेभेट्ने मौका हुन्थेन। त्यसै कारण मलाई त्यो घरमा राख्ने निर्णय गरिएको रहेछ। साँझ ढल्किदै गएको थियो। बाटोमा कोही मान्छे देख्यो कि मेरो डर र लाजले सातो पुत्लो उडथ्यो। बैनी अगाडि म पछाडी गर्दै हामी त्यो घरमा पुग्यौँ।
त्यहाँ पुग्ने बित्तिकै हामीलाई प्रश्न गरियो, “के काम ले आयौ नानीहरु यती साँझ?” म त कुन मुखले बोल्न सक्थ्येँ र। मेरो बैनीले सब बृत्तान्त बताइ। र उनीहरुले पर सरेको, नछुनी भाको जस्ता शब्दहरु प्रयोग गरेर, लु बस बस ननी भने। अनी म भुइँमा बस्नु पर्ने रे। रात पर्न लागेको थियो र बैनीलाई घर फर्किन ढिलो भई सकेको थियो। ऊ मलाई बस भनेर आफ्नो घर फर्की। त्यसपछि मेरा अलग दिनहरु सुरु भए अरुको घरमा।
मलाई थुप्रै नियम कानुनहरुमा बाँधिएको थियो। मैले छुट्टै बस्नु पर्ने, छुट्टै बसेर खानु पर्ने, मैले खाएपछि भाँडा माझेर छुट्टै राख्नु पर्ने, अरुसँग बोल्न नहुने, छुन नहुने के के अनगिन्ती बकवाँस नियम नै नियम थिए। अनी उदेक लाग्दो र भ्रमित कुरा त कपाल कोर्न नहुने, नङ काट्न नहुने, घाममा बस्न नहुने, घाममा मेरो लुगा-कपडा सुकाउन नहुने, अनि मैले राती नै उठेर उज्यालो नहुँदै नुहाउनु पर्ने। अरुले देख्यो भने पाप लग्छ रे । नछुनी हुनु भनेको आईमाईहरुले पाप गरेर भएको रे। यस्तै यस्तै कुराहरुले गर्दा मेरो मानसिकतामा ठूलो बिचलन आएको थियो। मलाई महिनावारीको बारेमा सम्झाउने, बुझाउने कोही पनि थिएन। न त पैला कसैले मलाई बुझाएको र पढाएको नै थियो। मात्र त्यो पाप हो भनेर नारकीय जीवन बिताउन बाध्य पारियो। मेरो पूरै शरीर भिजेको थियो रगतले निथ्रुक्कै भएर। मेरो कम्मरमुनिकाे सबै वस्त्र पूरै राताम्य भाकाे थिए। मलाई कसरी, सरसफाइ गर्ने, के गर्ने केही पनि थाहा थिएन। कैलेकाँही त त्यो रुडिवादी सोच र चलनलाई विश्वास गरेर आफूलाई पापी ठान्थेँ र रुँदै धिक्कार्थेँ। यसरी मेरा १० दिन बित्न लागे त्यो अरुको घरमा, खोरभित्र लुकेर। स्कुल जान नपाउनु र पढाई छुट्नुको पीडाले भत्भति मन पोल्थ्यो। अनि बल्ल १० दिनपछि मेरो आफ्नो घर फर्किने दिन आएछ। म खुशीले गदगद भएको थियो तर डरले पनि उत्तिक्कै काँपिरहेको थिएँ। मेरी बैनी आई बिहानै मलाई लिन भनेर। म मेरो लुगा-कपडा प्याक गरेर बैनीसँग आफ्नो घरतिर लागे।
बाटोमा भेटिने मान्छेहरुले मलाई अनौठो तबरले हेर्थे र जिस्क्याउँथे तिमी भागेको है, नछुनी भाको, के के भनेर। म पूरै काप्थेँ किनकी म मनसिक रुपमा पूरै बिचलित भएको थिएँ। मेरो १०/१० दिनसम्म कपाल नकोरेको र स्वास्थ्यमा ध्यान नदिएको कारण मेरो रुप पूरै फेरिएको थियो। म त डरलाग्दो चुँडेलजस्तो अवस्थामा थिएँ। ऐना हेर्न पाप लाग्छ भनेको कारण मैले आफ्नो मुहार त कस्तो थियो हेर्न पाएको थिइनँ। यसो गर्दै म केही समयपछि म मेरो घर पुग्न लागेँ। मलाई घरमा जान लाज लागेको थियो र केही बेर लुकेर बसेँ। धेरै बेरपछी ममीले तारम्तार गरेर बोलाएपछि म घर गएँ सबैले पर बस पर बस भन्थे। नछुनी भएर भएर आएकी भनेर जिस्काउँथे। अनि मेरो बस्ने, खाने ठाउँको ब्यवस्था गरिएको थियो। म त्यही बसेँ। र खाना खाएर स्कुल जान तयारी गरेर गएँ ।
स्कुल जन पाएर पढ्न पाउनुले म पूरै हर्षित थिएँ भने कसरी साथी -भाइ, गुरुवर्ग र अरु मान्छेलाई फेस गर्ने भन्ने कुराको चिन्ताले म पूरै चिन्तित थिएँ। धेरै दिन स्कुल नगएकाले मेरो धेरै लेसनहरु छुट्टीसकेको थिए। त्यसलाई कभर गर्नु र आफ्नो सधैंको पोजिसन कायम राख्नु मेरो लागी ठूलाे चुनौती थियो। म यस्तै-यस्तै कुराहरु मनमा खेलाउँदै स्कुल गएँ। फेरी पनि बाटोमा जिस्क्याउने मान्छेहरुको कुनै कमी नै थिएन। म आफूले आफूलाई समाल्न सकिरहेको नै थिइनँ। बल्लतल्ल स्कुलको प्राङगणमा पुगेँ। मलाई हेर्न आउने साथीहरुको ठूलो घुँइचो लगेको थियो। म लाजले पूरै भुत्तुक्कै भएको थिएँ। बल्ल-तल्ल म आफ्नो कक्षाकोठाभित्र पुगेछु। सब केटाहरु मलाई हेरीरहेथे, म भने उनिहरुलाई हेर्न सकिरहेको थिइनँ। कतिले त अचम्मित् भएर तिमी भागेर आएको है भनेर जिस्क्याउँथे। अनि सरहरुलाई नि थाहा रहेछ म भागेको भन्ने कुरा। कती सरहरुले त बेला मौकामा जिस्क्याउने गर्थेँ। अनी धेरै साथीहरुले सोधिरहन्थे के भयो कसरि भयो भनेर। म लाजले बताउन सक्दिन थिएँ। अनी त्यही समूहमा केहि सुनुवार राई साथीहरु नि थिए उनिहरुलाई यस्तो कुरा अाश्चर्य लाग्थ्यो। किनकी उनिहरुको समुदायमा यस्तो चलन नै थिएन। यसरी नै मेरा केही दिनहरु अप्ठ्यारोका साथ बिते। केही दिनमा फेरी सामान्य भएको थियो। तर घरमा भने यो बारम्बार दोहिरिरन्थ्यो।
पैला पालो नछुनी भाको राम्रोसग बार्नुपर्छ। पुरै २२ दिन सम्म केही छुन हुन्न, कतै जान हुन्न, कपालमा तेल लगाउन जस्ता नियमहरु को सधैं पालना गर्नु पर्थ्यो पूरै आज्ञाकारी भएर। अरुले दिएको खानु पर्ने, अलग्गै बस्नु पर्ने, भोक लग्थ्यो आफैँ भान्सामा गएर बनाएर खान नहुने। मलाई अती दिक्क लाग्थ्यो। सबैभन्दा हास्यास्पद कुरा त रुख-बिरुवा छुन नहुने अनि छुयो भने मर्छ रे किनकी त्यो बेला केटीहरु पापी हुन्छन् रे। यस्ता वाइयात कुराले रिसले मेरो पूरै पारो तात्थ्यो अनि म झर्केर बोल्थेँ अनि सबजना ममाथी रिसले खनिन्थे। अनि म झन झर्केर बोल्थेँ। अनी अरुले मलाई दुर-दुर गर्थेँ। पूरै अछुत बनाएर। मलाई यस्तो कुराहरुले अती पिरोल्थ्यो र विद्रोह गर्न चाहन्थेँ तर सक्दिन थिएँ। अती भएपछी एक दिन मेरो ममीसँग ठुलो झगडा पर्यो। म धेरै रिसाएर बोलेँ, च्याँठेर बोलेँ र प्रश्न गरेँ सब रुढिवादी परम्पराको मेरो आमासँग मलाई चित्त बुझउने खालकाे कुनै उत्तर थिएन। यतिकैमा मेरो २२ दिन पूरा भएछ अनि म नुवाई-धुवाइ गरेपछि चोखिने रे। म खुशी थिएँ र गरे पनि। त्यसपछि मेरो केही समय महिनावरी रोकियो। म मनमनले नहोस् भन्ने प्रार्थना गर्थेँ। तर किन रोकिन्थ्यो र २/3 महिना पछि फेरी भयो।
फेरी पनि स्कुलबाट आउँदै गर्दा मैले त्यो कुरा फील गरेँ । तर घरमा भन्न डराईरहेको थिएँ। फेरी पनि अन्तै पठाउने पो हुन् कि भनेर। फेरी नभनम भने पनि थाहा पाइहाल्थे र झन् आतंक मच्चिन्थ्याे घरमा। बल्लतल्ल मेरी बैनीलाई भनेँ र उसले आमालाई भन्दी र त्यो पाली भने घरबाट बाहिर जान नपर्ने र मात्र १५ दिन सम्म बार्नु पर्ने जस्ता नियमहरु बनाइए। तर स्कुल जान पढ्न भने पाइन्थ्यो। म सहमत भएँ ति कुराहरुमा। तर अलग्गै बस्नु पर्ने, अरुलाई छुन नहुने, के के अनगिन्ती बक्वाँस नियमहरु थिए। म रुँदै , रिसाउँदै पलना गर्थेँ। तर सरसफाइ कसरी गर्ने , कसरी स्वस्थ बन्ने भन्ने कुराहरु भने कैले पनि कतैबाट पनि सिकाइएन। बस पाप लाग्छ र अछुत भनेर कु-व्यवहार गरियो। म पूरै रगतले निथ्रुक्कै भिज्थेँ र म बसेको ठाउँमा त पूरै रगत हुन्थ्यो। मलाई त्यो कुराहरु सिकाउनु र बुझाउनु परै जावोस उल्टै भस्सर र फोहोरी भनेर दुर-दुर गरिन्थ्यो। यसो हुँदा हुँदा एक दिन त स्कुलमा मेरा साथीहरुले नि मेरो कपडा भिजेको चाल् पाएछन।
म स्कुलमा कक्षामा बसिरहँदा पढाई भईरहेको थियो अनि मेरो सब साथीहरुले चाल पाएछन र मलाई सबैजना मिलेर बाहिर लगे र त्यो बारेमा भनिदिए। उनिहरु उमेरले म भन्दा अली पाका भएकाले त्यो विषयमा अलीबढि जानकार थिए। कपडा राख्नु पर्छ, यसो गर उसो गर भनेर सम्झाए तर मैले राम्ररी बुझेकै थिइनँ। सबै केटाहरुले नि थाहा पाउने अनि मलाई पूरै गाह्रो हुने घरमा नि अछुतको व्यवहार गर्ने जस्ता कुराहरुले म पूरै बेचैन अवस्थामा हुन्थेँ। अनि सधैंजसो नहोस्-नहोस् भनेर प्रार्थना गर्थेँ। हुँदाहुँदै मेरो पढाई तथा कुर्नै व्यवहारमा भिन्नता देखियो भने त्यही महिनावरीसँग जोडेर घोच-पेच गरेर बोल्ने गर्थे, “यो नछुनी भएपछि बिग्री, यस्ती भई त्यस्ती भई।” यस्ता कुराहरु सुनेपछि झन म मनसिक रुपमा पूरै बिचलित हुन्थेँ र रुएर बस्थेँ एकान्तमा।
यसो गर्दा-गर्दै मेरो स्कुल लेबल को पढाई सकियो। त्यसपछि अर्को चरणको पढाईको सुरुवात भयो त्यती बेलासम्म पनि म त्यो विषय राम्रोसँग बुझिसकेको थिइनँ। उस्तै पीडा, चिन्ता, छटपटि, बेचैनी जस्ता चिजहरु झेलिरहेँ। महिनावरीप्रति मेरो नकारात्मक धारणा रहीर्यो। कैले बुझ्नै सकिनँ। सधैँ गलत बुझिरहेँ। निक्कै समयपछि मात्र मेरो धारणामा आमूल परिवर्तन आयो।
जब मैले १०+२ पढाई सकाएँ। त्यसपछि मैले धेरै अध्ययन गरेँ। धर्मको किताबहरु नि धेरै पढेँ तर काँही कतै नि भेटिएन कि महिनावरी पाप हो भनेर लेखिएको। अनि मैले महिनावरी हुनुको कारण बुझेँ। त्यो त सन्तान उत्पादनको तयार हुने एक महत्वपूर्ण कुरा रहेछ। नत्र भने पुरुषहरुलाई पनि त हुन्थ्याे नि। यति राम्रो र गर्व गर्ने कुरालाई मैले गलत सँस्कार र कुरितिका कारण मैले कति गलत बुझिराको रहेछु भन्ने भान भयो। तेसपछि मैले बार्न छोडिदिएँ। मलाई के गर्नु पर्छ, कसरी सरसफाइ गर्ने भन्ने सब कुरा थाहा भयो। म कतिपय अवस्थामा घरमा जानकारी नै गराउँदिनँ । कतिपय चाँड- पर्वमा मा भन्दै नभनी बसेँ। खै मलाई केही भएन। तर अझै पनि योप्रतिको धारणा भने मान्छेहरुमा पूर्णरुपमा परिवर्तन भएको छैन। यो सब अशिक्षा र अन्धविश्वासको कारणले गर्दा भएको हो।
यसरी अनुलिशाले आफ्नो बल्यकालमा महिनवरीको कारणले भोग्नु परेको पीडा तथा वेदनाहरु व्यक्त गरिन् । अन्तमा उनले भनिन् फेरी; यो समाजमा धर्मको गलत व्याख्या र प्रचार भएको छ। धर्मलाई मान्छेहरुले गलत प्रयोग र गलत बुझाइका कारण आफ्नै बाबुआमाले पनि आफ्ना सन्तानहरुलाई पीडा दिन्छन्।”
र अनुलिशाले आफैँसँग प्रण गरेकी छे भविष्यमा उसकम छोरीहरुले यस्तो पीडा भोग्नु पर्ने छैन। ऊ भन्छे “म आफ्ना छोरीलाई यस बारेमा राम्ररी पढाउने छु, राम्रो शिक्षा दिन्छु र महिनवरी हुनु कुनै पाप नभएर यो त ठूलो उपहार हो नारी जातीको लगी भनेर स्पषष्टसँ बुझाउँछु। यदि नारीहरु महिनावरी भएनन भने यो सृष्टिका मानव सभ्यता नै रोकिनेछ। तसर्थ महिनावरी कुनै पाप नभएर यो एउटा पवित्र प्रसाद हो” भन्दै अनुलिशा आफ्ना भनाइहरु टुङ्याउछे।
My heart keeps jumping with happiness. Thank you for your invaluable mentoring and motivation. I’ve had so much of happiness and fun getting to know you better, and I’ve learned so much from you. You are amazing at what you do! I’m grateful to have you in my life. I love you infinite dear.
ReplyDeleteहस बाहुनि धन्यवाद
Delete