सीमान्त आमाभित्रकाे आवाज
जीवन र कविताबीच के समानता र भिन्नता हो ? जीवन अनन्त सम्भावनाको कविता हो र कविता ती सम्भावनाहरुको सरल अभिव्यक्ति । कवि द्रष्टा हो । जो सदा चिन्तनशील अनन्त खोजहरुमा ध्यानमग्न रहन्छ । यही साधनाबाट अद्भूत कवितात्मक अभिव्यक्तिहरुको जन्म हुन्छ र स्रष्टा समयको गर्भमा कालान्तर जीवन्त चेतनाहरुमा छरप्रष्ट भेटिन्छन् ।
यही यात्रामा गहन विचार बोकेर नेपाली साहित्य क्षेत्रमा उदाएका एक द्रष्टा हुन् , कवि सुरेश हाचेकाली । चक्रब्यूह सञ्चेतनाका प्रर्वद्धक मध्ये एक उनी घोषण गर्छन्, ‘‘लेखन, अर्थगत विश्लेष्ण र त्यसको सार्वजनिकीकरण साहित्यिक क्याननहरुका एकलौटी अधिकार होइनन् ।’’ वास्तवमै कविता सङ्ग्रह ‘सीमान्त आमाहरु’ पढ्दा उक्त अभिव्यक्ति उजागर भएको प्रतित हुन्छ । कवि हाचेकाली रहरका वा रोगी कवि होइनन् । उनी त द्रष्टा हुन्, अझ एक साधकको रुपमा आफ्नो कविताहरुमा देखापर्छन् । उनको यही साधना कर्मले उनलाई समकालिन् कविहरुमाझ अलग पहिचान गरिदिएको छ ।
कविता जीवनको सरल रेखाहरुमाझ, उनी गम्भिर, बौद्धिक र सम्वेदनशील चिन्तक कविका रुपमा कविताहरुमा स्पष्ट देखापर्छन् । उनको प्रकाशित कृति ‘सिमान्त आमाहरु’ शिर्षक आफैँमा सीमान्त वर्ग (महिला तथा श्रमजीवी) हरुमा समर्पण गरिएको अनुभूति हुन्छ । अझ उनका कविताहरुमा प्रयोग गरिएका भाषा शैली, कला र सरल भावनाहरुले उनको कृति सफल बन्न पुगेको छ ।
हजारौँ हजार दिन मार्नेलाई
एउटै दिनले मारिदिन्छ ।।
उनको यही अभिव्यक्तिले उनको सम्पूर्ण जीवन चेतनाको अद्भूत ज्ञान स्पर्श गर्न सकिन्छ । यसरी उनी कतै जीवनप्रति आशावादि देखापर्छन् त कतै निराशाले धरमराउछन् । अझ, उनका कविताहरुमा प्रयुक्त छालीमा, लैहरी, लुनिभा, गिर्हत, धियापुता, छौडी, जरुवा, ओर्याइँ जस्ता मौलिक शब्दहरुले नेपालको तराई, पहाड र हिमालको सह–अस्तित्वको आव्हान गरेका छन् । ग्रामिण जीवनको अनुभूति अनि भोगाइका सरल बिम्बहरुको उनले लयात्मक–बेजोड प्रस्तुति गरेका छन् ।
उनको कविताहरुमा नारीप्रति सहानुभूति र नारीको अदम्य साहसको प्रशंसा गर्दै ‘ईभ’ लाई वीरङ्गना अनि विद्रोहको प्रतिक, अनि पुरुषभन्दा साहसिलो पात्रको रुपमा खडा गरिएको भेटिन्छ । र, कविताहरुमा सहिद, व्यप्त गरिबी, लाचार धर्म ग्रन्थ, बेचिएकी चेली, मानवता, असमानता, प्रेम अभिव्यक्ति जस्ता भावनाहरु एकसाथ ओइरिन्छन् । क्राइष्ट, शिवदेखि लिएर फ्रायड अनि उत्तर–आधुनिकताको छनक पनि उनका कविताहरुमा स्पष्ट प्रतिबिम्बित भएका छन् ।
यत्र–तत्र कविताहरुमा उनले उपमा, रुपक, मानविकीकरण, सजीवीकरण, प्रतीक र बिम्बहरु प्रयोग गर्दै सजीव–यथार्थ पात्रहरु सिर्जना गरेका छन् । र, व्याङ्गय गर्दै ‘कान्छी साबुन’ अनि ‘सुन्तलीहरु’ यो युगको अभिशापको रुपमा चित्रण गरेका छन् । कतै उँभोखोले दाईमार्फत जीवनका पीडाहरु व्यक्त गर्न पुगेका छन् । अझ, उनका कविताहरुमा माटो जीवनभन्दा प्रिय छ भन्ने भावना झल्किन्छ र मनास्लुको रुपप्रतिको मोहसँगै प्रकृतिप्रेम प्रस्फुटित भएको छ । कतै निराश भएर काठमाण्डौँलाई गाली गर्दै ‘दुम्सीकाँडे’ भन्छन् त कतै आमाको प्रेममा डुब्दै भावविहल बन्छन् । उनको कवितामा पात्रहरुले कतै ‘डेड् एक्स्पायर्ड फ्यालस’ बनेर व्यङ्गय गर्छन् त कतै ‘पप कविता’ बनेर खिसि गर्छन् । अनि उनका छोटा कविताहरु पनि रहरका सशस्त्र पखेटाहरु भिरेर ‘एन्टीबायोटिक वर्णहरु’ स्थापित गर्न सबल देखापरेका छन् । कतै भने, यस्ता तगडा कवि पनि अनावश्यक गनथन गर्न पुग्छन् र शब्द र शिर्षकमै पाठकलाई अल्मलाउन शाब्दिक ल्किष्टताको खेती गर्न पुग्छन् । अनि अनावश्यक प्रस्तुस्ति र भावनात्मक बहावमा ‘साँपे छाेरा’ को अभिव्यक्तिमा ठेसिन पुग्छन् ।
जे भएपनि सीर्जनाप्रति उनको जिजिविषाले उनी एक साधकका रुपमा ओजपूर्ण चेहरा बन्न पुगेका छन् अनि रङ्ग सहिष्णुताको जगमा जीवन अर्थ यसरी खोल्छन्....
हजारौँ खुरहरुले कुल्चेपछि पनि
परेडभूमिको माटोमा
कायम थियो उर्वरा गन्ध ।।
Comments
Post a Comment
Thank you. I am pleased to hear from you. Please keep motivating me.