दुःख

 

३. दुःख






दुःखको परिभाषा                                    

पिरामीड बनाउनेहरुलाई सोध्नु    

र खोज्नु बलाैटेभूमिका

सङ्घर्षशिल सिउँडीका बोटहरुमा      

जो टाढा उडेका बकुल्लाका बथान हेरिरहन्छन्            

खोला बग्नु यथार्थ हो                                  

फूल फुल्नु वास्तविकता                              

न कुनै वसन्तले फुलाउँछ फूल                      

होइन भने काँसघारीभरी अनुभूति गर्नु                  

फट्याङ्ग्राको उफ्राईमा                              

दुःखका आवाजहरु ।।

 

सिउँडीका काँडाहरुमा

अङ्गुरका लहराहरुमा

जीवनको सङ्घर्ष लुकेको हुन्छ

र भेटिन्छन् दुःखका स्मृतिहरु

जसरी सिमलको भूवाँ

हावामा बहकिँदै नयाँ जीवनको सुरुवात गर्छ ।।

 

युद्धका आवाजहरुमा—चिच्याहटहरुमा

दुःखको अनुभूति मक्किसकेका छन्

बुद्ध, मण्डेला अनि चे

चुवाको फूल बनिसकेका छन्

अब दुःखको रहस्य वर—पिपलको झ्याङ्गाईमा खोज

जसरी गुराँस प्रत्येक हिउँदमा नाङ्गिन्छ

र दुःखले राताम्य बन्छ वसन्तमा ।।

 

हो मलाई दुःखको वसन्त पार गरेर

सुखको शिरशिर टेक्नुछ,

जहाँ औँसीमा दुःखको जूनकिरी बन्नुछ

अनि विशाल युद्धपोतहरु ध्वस्त गरेर

दुःखभित्रको दुःखको परिभाषा बदल्नुछ

 र बनाउनुछ अलग पिरामीड ।।

 

०७. बैशाख. २०७२/ २०. अप्रिल. २०१५/ मङ्गलबार/ नखुडाेल

Comments