माैनताकाे अावाज (कथा)

माैनताकाे अावाज

नेचुरल्लीदीपक







एउटा युवती कतै एक्लै यात्रामा छिन्  । बाटाे अनाकन्टार छ अनि मरुभूमितुल्य । साथमा बाेकेकाे खाना र पानी पनि सकिसकेकाे छ । घाम अत्यन्त प्रचण्ड रुपमा चर्किरहेकाे छ । सारा शरिरभरि पसिनाले ढाकेकाे छ उनलाई ।

घण्टाैँकाे हिँडाइँ पश्चात् निकै पर उनले केही अाकृति देख्छिन् । पानी पिउन पाउने अाशामा उनी अाफ्नाे शेष शक्ति प्रयाेग गरेर अाकृति भएकाे ठाउँतिर दाैडन्छिन् । अन्नततः जब उनी त्यहाँ पुग्छिन् तब उनमा खुसिकाे सीमा रहन्न । सानाे कुटिजस्ताे घाम मात्र छेक्न मिल्ने एक-पाखे छाप्राे हुन्छ त्याे । यताउति अाँखा दाैडाउछिन् तर केही देख्दिनन् । न गाग्री छ न त केही । बस खालि छाप्राे मात्र । अनि बिचमा एक साधु अाँखा बन्द गरेर ध्यान मुद्रामा छन् । उनी बढाे सकसपुर्वक पानी माग्ने काम गर्छिन् । साधुले बिस्तारै अाँखा खाेलेर मुस्कान साथ पानी नभएकाे सत्यबाेध गराउँछन् । युवती मरेतुल्य हुन्छिन् । 



साधुलाई खेद र ग्लानिले घेर्छ । तसर्थ पानी दिन नसकेकाे पीडामा उनी युवतीलाई महाज्ञान दिन लाग्छन् । माेक्ष र निर्वाणकाे ज्ञान । लाग्छ कि उनी कृष्ण हुन र युवती अर्जुन । साधु शान्त छन् । युवती अधिर । साधु ज्ञानले अभिभूत युवती प्यासी । 

अचानक झरि वर्षन्छ । झरीकाे पहिलाे माैन अावाज युवतीकाेलागि महाज्ञान साबित हुन्छ । जुन महाज्ञान साधुले हजाराैँ शब्दहरुले प्रदान गर्दा नि युवतीले अनुभूत गर्न सकेकी थिइनन् पानीकाे एक थाेपाले नै युवतीमा अद्भूत ज्ञान भरिदियाे, किनकी त्यही एक थाेपामा जीवन थियाे ।

 युवती बाहिर निस्किन्छिन्  र नजिकै खाल्डामाे जम्मा भएकाे पानी बटुलेर अाफ्नाे दिनभरकाे प्यास मेटिछिन् । अनि तृप्तिकाे श्वास फेर्दै उनी साधुसमक्ष सास्टाङ्ग दण्डवत् गरेर बाेलिछिन्, "ए सन्त महाराज म हजुरकाे महाज्ञान ग्रहण गर्न अब तैयार छु ।" युवतीकाे सन्तुष्टिले जगमगाईरहेकाे मुहार देखेर साधुले तत्काल महानिर्वाण प्राप्त गरे ।

०२. जेष्ठ. २०७७/ १६. जुन. २०२०/ मङ्गलबार/ १:२६ दिउँसाे

Comments