साहित्यमा आंशिक शारीरिक दुर्बल व्यक्तिकाे अलग आयामकाे खाँचाे
मेराे याे छाेटाे लेख साहित्यमा प्रयाेगगरिएकाे आंशिक शारीरिक दुर्बल व्यक्तिप्रतिकाे संक्षिप्त अध्ययन हाे, खासगरि मैले अाफ्नाे याे लेख लैनसिँह बाङ्देलकाे लङ्गडाकाे साथी र पारिजातकाे ९ वटा उपन्यासहरुलाई आधार मानि तयार पारेकाे छु ।
मुख्य प्रश्न याे हाे कि, आंशिक शारीरिक दुर्बल व्यक्तिलाई लेखनकाे केन्द्रमा अर्थात् नायक वा खलनायकमा किन राखिन्न? या त उनीहरुलाई प्रयाेग नै गरिन्न अथवा दया र पीडाकाे भागिदारकाे पात्रकाे रुपमा मात्र प्रयाेग गरिन्छ । यश लेखमार्फत् म आंशिक शारीरिक दुर्बल व्यक्तिकाे पनि अरु सामान्य भनिएकाे मानिसहरुकाेजस्तै सामान्य जीवन हुन्छ भन्ने तर्क प्रस्तुत गर्छु ।
मैले याे लेखमा अपाङ्ग वा अन्य यस्ता शब्द प्रयाेग नगरि आंशिक शारीरिक दुर्बल व्यक्ति (आशादु) पदावलिकाे प्रयाेग गरेकाे छु ।
आंशिक शारीरिक दुर्बल व्यक्तिप्रतिकाे चलि आएकाे साेच
अाशादुप्रति अन्य सामान्य भनिएका समुहले सदा हेयकाे भाव राखिने गरिएकाे छ । चाहे यथार्थ जे हाेस् तर याे समाजबाट निर्मित एकाेहाेराे धारणा हाे । जस कारणले सदा उनीहरुलाई दयाकाे पात्रकाे रुपमा मात्र बुझिदै अाईएकाे छ । वास्तवमा आशादुहरु याे समाजमा अाफ्नाे अलग पहिचान र दायित्व निर्वाह गर्ने अधार पाउन चाहन्छन् । समाजकाे वृहत समुदाय शारीरिक वा मानसिक रुपमा कमजाेरहरुप्रति वेवास्ता गर्न रुचाउँछन् ।
अशक्तताप्रति बुझाईकाे भ्रम
समाजले अशक्ततालाई आफ्नै खुसि वा बुझाई अनुरुप अर्थ दिएकाे । जसले गर्दा आशादु भएका व्यक्तिकाे पूरै जीवन नै अशक्त वा कमजाेर हाे भनी चित्रण गर्ने गरिन्छ, जस्तै सामान्य जीवनका कामहरु गर्न नसक्ने वा उनीहरुले जिएकाे जीवनलाई असामान्य मान्ने भ्रमहरु प्रचलित छन् । समाजकाे ठूलाे हिस्साले यस्ताे धारणा राखे तापनि याे पूर्ण यथार्थ कुरा हैन । किनकि ईतर समूहले मानेजस्ताे आशादु पूर्ण अशक्त हुँदैनन् । मानाैँ, काेही दृष्टिबिहिन् छ, ऊ देख्न नसके पनि साेच्न, कल्पना गर्न, गाउन वा बाेल्न सक्छ । त्यसैले कुनै पनि दृष्टिबिहिनकाे केवल आँखाले मात्र दृश्यकाे अस्तित्व अनुभव गर्न सक्दैन । साथै सेरेब्रल पाल्जि भएका कुनै पनि व्यक्तिलाई पनि पूर्णरुपमा अशक्त हाे भनी घाषणा गर्न मिल्दैन किनकि उसभित्र पनि केही न केही जीवित कार्य गर्ने क्षमता निहित हुन्छ । उदाहरणकाेलागि अमेरिकि लेखक तथा चित्रकार कृष्टि ब्राउन जाे सेरेब्रल पाल्जीकाे सिकार थिए तर उनकाे कलालाई यसले राेक्न सकेन । यस्तै अर्का अशक्त व्यक्ति हुन् नेपाली लेखक झमक घिमिरे उनी पनि ब्राउनकै राेगसँग जुध्न विवश छिन् । र यस्तै अर्का अङ्ग्रेजी साहित्यका कवि जाेन मिल्टनलाई पनि लिन सकिन्छ उनीसँग पनि संसार हेर्ने ज्याेति थिएन ।
के सशक्त मानिएका व्यक्तिहरुमा सारा गुण हुन्छ र ? अनि हुनै पर्छ भन्ने छ र ? के ब्राउन, घिमिरे वा मिल्टनकाे जस्ताे क्षमता हुन्छ वा हुनै पर्छ र ? उदाहरणकाे लागि सबल भनिएका समूहले फुटबल त खेल्न सक्लान् तर मेसिजस्ताे नसक्लान् अनि दाैडन त सक्लान् तर उसैन बाेल्ट जसरि दाैडिन त नसक्लान् नि । अनि सक्नै पर्छ भन्ने पनि त छैन । यश अर्थमा त उनीहरु पनि अशक्त ठहरिए नि हैन र ? तसर्थ यी सब कुराहरुलाई ध्यान दिई हेर्दा अांशिक शारीरिक दुर्बल व्यक्तिलाई हेय भावले हेर्नू वा उनीहरुलाई अशक्त मान्नु अन्याय हाे । त्यसैले उनीहरुलाई अशक्त, कमजाेर वा असहायजस्ता शब्दले सम्बाेधन नगरी अांशिक शारीरिक दुर्बल व्यक्ति (आशादु) भन्नू पर्छ । अर्थात् कसैकाे दृष्टि नहुँदैमा उसकाे पूरै जीवन सकिन्न, उसकाे केवल दृश्य अनुभूति गर्ने क्षमता रहन्न वा बाेलि नआउँदैमा काेही पूर्ण अशक्त हैन, उसकाे केवल आवाज मात्र अशक्त हाे । उनीहरुकाे पनि जीवनकाे छुट्टै आधार हुन्छ ।
यश लेखमा म आशादुलाई साहित्यमा प्रयाेग गरिएकाे बारेमा थाेरै चर्चा गर्न चाहन्छु । याे समूहलाई या त साहित्यमा कुनै स्थान नै दिईन्न वा दिईएता पनि दु:खि र अपहेलित पात्रकाे रुपमा दिईन्छ । सामन्य अर्थमा कहिल्यै प्रयाेग गरिन्न । यसकालागि मैले लैनसिँह बाङ्देलकाे 'लङ्गडकाे साथी'लाई लिएकाे छु । यसमा आशादुलाई तिरस्कृत, एकलाे, दु:खि, गरिब, माग्ने अनि केटाकेटीहरुबाट सताईएकाे पात्रकाे रुपमा प्रस्तुत गरिएकाे छ । उनकाे आफ्नाे न घर छ, न खाना र राम्राे कपडा नै अनि माया गर्ने न काेही आफ्ना नै छन् । उनकाे केवल साथी भनाैँ वा सारा आफ्नाे भन्नू नै एउटा कुकुर छ । सारा मानव पात्रहरु उनी प्रति दया र कृपाकाे रुपमा प्रस्तुत गरिएका छन् । अन्तमा उनकाे अर्थहीन् मृत्यु हुन्छ । यश उपन्यासकाे उनी मुख्य पात्र त हुन् तर उनलाई एक अति दु:खि पात्रकाे रुप दिईएकाे छ । के उनी खुसि, परिवारले घेरिएकाे, सम्पत्ति समपन्न र सम्मानपूर्वक बाँचिरहेकाे पात्रकाे रुपमा देखिन सक्थेनन् र ? के अन्य सामान्य भनिएका व्यक्तिहरुकाे यस्ताे अवस्था हुन्न र ?
यसरी नै म नेपाली साहित्यका पूज्य लेखक पारिजातकाे प्रसँग जाेड्न चाहन्छु । उनकाे प्रकाशित ९ वटा उपन्यासहरु छन् । उनी स्वयम् पनि आशादु वर्गमा नै पर्छिन तर उनका यी कृतिहरुमा उहाँले कुनै पनि नायक वा खलनायकलाई यश रुपमा देखाउन सक्नुभएकाे छैन । यसकाे खास कारण के हाे ? डर, भ्रम वा समाजमा रहदैकाे मानसिकताकाे उपज ?
म यसकाे कारण समाजमा विद्यमान रहेकाे मानसिकतालाई मान्छु । त्यसैले बाङ्देल अनि पारिजातजस्ता लेखकले पनि अाशादुलाई कुनै सही स्थान दिन सकेनन् । त्यसैले त लङ्गडाकाे साथीका मुख्य पात्र पीडा दायक मृत्यु स्विकार्न विवश हुन्छ । यसकाे बदलामा उनी समाजमा रहेकाे याे असमानताविरुद्ध लडेर आफ्नाे उचित स्थान प्राप्त गरेकाे देखाउन सकिन्थ्याे । यस्तै पारिजातका उपन्यासहरुमा वर्ग संघर्ष देखाईएकाे छ (शिरिषकाे फूल बाहेक) । तर यहाँ कुनै पनि आशादुलाई मुख्य पात्रकाे रुपमा देख्न सकिन्न । उनकाे उपन्यास पर्खाल भित्र र बाहिरकै कुरा गराैँ, यसमा ज्वाला नामका मुख्य पात्र छन् । उनी संघर्षशील र निम्न वर्ग प्रतिनिधित्व गर्ने पात्र त हुन् तर समाजले स्विकारेकाे सबल पात्र हुन् । के क्रान्ति गर्न शारीरिक तागत नै मुख्य आधार हाे ?
नायककाे अर्थ र साहित्यमा आशादुकाे प्रयाेग
नायककाे अर्थ र प्रयाेगमा सामाजिक मिथक निर्माण गरिएकाे छ । अर्थात् नायक हुन सुन्दर, बलियाे र शारीरिक रुपमा तन्दुरुस्त हुनैपर्ने साेचले समाजमा जरा गाँडेकाे छ । यसैकाे उपज हाे बाङ्देलकाे उपन्यासकाे मुख्य पात्र । अनि प्राय: साहित्यमा आशादुलाई नायक र मुख्य पात्रकाे रुपमा देख्न नपाउनुमा पनि समाजले निर्माण गरिदिएकाे यही साेचले नै तगाराे लगाएकाे छ ।
पारिजातले लेख्नु भएका उपन्यासहरुमध्ये कुनै एकमा उहाँले आशादुलाई प्रयाेग गर्न सक्नुहुन्थ्याे नि तर त्यस्ताे केही भएकाे छैन । उहाँले बाङ्देललेभन्दा राम्राेसँग आशादुकाे भावनालाई बुझ्न सक्नुहुन्थ्याे अनि न्यायपूर्व यस्ता पात्रलाई उचित स्थान दिन सक्नुहुन्थ्याे । तर यस्ताे हुन सकेकाे छैन । यसकाे मुख्य कारण के हाे त ? के समाजले बनाईदिएकाे मिथक नै हाे ?
मेराे प्रश्न छ, नायक बन्नुकाे मुख्य आधार के हाे ? के समाजले मानेकाे सबल व्यक्ति नै हुनुपर्छ वा हर्कुलसजस्ताे सर्वशक्तिमान नै हुनुपर्छ ? के आशादु कुनै पनि लेखनमा नायक वा मुख्य पात्र बन्न (बाङ्देलकाे पात्रजस्ताे हैन) नहुने नै हाे त ?
वास्तवमा नायक त सामान्य व्यक्ति (जाे पनि, आशादु पनि) हाे जाे अाफ्नाे शक्तिशाली साेचले अति महान् मानिएका कार्य गर्न सफल हुन्छ । यस्तै खलनायक पनि अाफ्नाे कर्मले बन्ने हाे । तसर्थ आशादु पनि साहित्यिक लेखनमा नायक वा खलनायककाे रुपमा देखिनु पर्छ, अर्थात् उक्त पात्र बलात्कारि, दलाल, प्रेमी, व्यपारि, श्रमिक, विद्राेही वा स्वतन्त्रता सेनानी हुनसक्छन् । किनकी शारीरिक वा अन्य कुनै आधारलाई कारण बनाई कसैलाई (आशादु) दया र हेयकाे रुपमा मात्र चित्रण गर्नु अन्याय हाे । अब यश साेचलाई परिवर्तन गर्ने उचित समय अाएकाे छ ।
आशादुकाे अर्थ र लेखन पक्ष
आशादु नै किन ?
आशादु अर्थात् आंशिक शारीरिक दुर्बल व्यक्ति नै किन भन्ने प्रश्नकाे उचित जवाफ दिनु पर्ने भएकाेले याे छाेटाे लेख तयार पार्दै छु । यसकाे लागि केही विषयहरुमा छलफल गर्न जरुरि मान्छु म । फरक क्षमता भएका वा फरक शारीरिक क्षमता शब्दावली प्रयाेग नगरी आशादु प्रयाेग गर्नुकाे कारण म बुँदागत रुपमा बयान गर्न चाहन्छु ।
फरक क्षमता- हरेक व्यक्ति व्यक्तिबिचकाे क्षमता फरक नै हुन्छ । सबैकाे उही क्षमता हुँदैन र हुनु पनि हुन्न । सामान्य भनिएका (आशादु बाहेक) दुई व्यक्तिमा पनि क्षमता फरक नै हुन्छ । एउटाले गर्ने काम अर्काेले गर्न सक्दैन । एउटै काममा पनि हरेक व्यक्तिकाे क्षमता फरक नै हुन्छ । अब यस्ताे अवस्थामा आशादुहरुलाई फरक क्षमता भएकाे भन्नु अन्याय हाे । या त आशादु बाहेकका हरेक व्यक्तिबीच पनि फरक क्षमता भएकाे भन्नू पर्याे अन्यथा आशादु भएका व्यक्तिहरुलाई पनि भन्नू भएन ।
फरक शारीरिक क्षमता- यस्तै आशादु बाहेका मानिस हरेककाे शारीरिक क्षमता फरक नै हुन्छ र हुनु पनि पर्छ, यही नै सत्य हाे । मानाैँ यी मानिसहरुमध्ये दुई व्यक्तिलाई (क र ख) लिईयाे भने दुबैकाे शारीरिक क्षमता फरक हुन्छ नै तर यी क र ख व्यक्तिलाई कसैले पनि फरक क्षमता भएका व्यक्ति भन्दैनन् र मान्दैनन् पनि । किन यस्ताे छ त ? किनकि यसलाई हामी सामन्य कुराकाे रुपमा लिन्छाैँ । अर्थात् समाज बहुसंख्याक आशादु बाहेकका मानिसहरुकाे साेचले थिचेकाे छ । तसर्थ यदी क र ख व्यक्तिकाे फरक शारीरिक क्षमता भएता पनि फरक क्षमता भएका व्यक्ति भनिन्न भने आशादु भएका व्यक्तिहरुलाई पनि उनीहरुकाे तुलना गरेर याे शब्दावलि प्रयाेग हुनु भएन वा क र ख व्यक्तिलाई यही शब्दावलि प्रयाेग हुनुपर्छ यदी आशादु भएका व्यक्तिहरुलाई यसरी सम्बाेधन गरिन्छ भने ।
यही मेसाेमा अशक्त, अपाङ्ग लगायतका अनेकाेैँ शब्दहरुले आशादु भएका व्यक्तिहरुलाई एकातिर अपमानित गरेकाे छ भने अर्काेतिर कमजाेर र असमर्थ हुनुकाे अनुभूति दिने गरेकाे छ । यी यस्तै कारणहरु आशादु भएका व्यक्तिहरुकाे जीवन र जीवनका सम्पूर्ण आधारहरुलाई अपमानित, मूल्यहीन र कमजाेर हुनुकाे ट्याग लगाईदिएकाे छ ।
आशादुकाे वास्तविक अर्थ
आशादु शब्दले कुनै पनि व्यक्तिमा भएकाे एक वा एकभन्दा बढि शारीरिक दुर्बलता हुँदैमा जीवनका सम्पूर्ण आधार र जीवन मूल्यहीन् हाे भन्ने जड साेचलाई अस्विकार गर्छ । अर्थात्, यदी कुनै व्यक्तिकाे खुट्टामा कमजाेरि छ भने उसकाे त्याे खुट्टा मात्र दुर्बल वा कसैकाे आँखामा कमजाेरी छ भने उसकाे केवल त्याे आँखा मात्र कमजाेर हाे । यसर्थ उसकाे सम्पूर्ण जीवनलाई विचरा वा मूल्यहीनकाे रुपमा अर्थ्याउनु अपमान मात्र हाे । त्यसैले आशादु (आंशिक शारीरिक दुर्बल व्यक्ति) शब्दले शरिरकाे एक वा बढी अंश (किनकि पूरा शरिरकाे दाँजाेमा हरेक अङ्ग अंश मात्र हाे ) मात्र दुर्बल हाे बाँकि अंश र जीवन हाेईन भन्ने मान्यतालाई अघि सार्छ । यसैले कसैकाे शरिरकाे एक अंशलाई आधार बनाई उसकाे जीवनकाे सम्पूर्ण आधारलाई नै हेय भाव राख्नु अन्याय सिवाय केही हैन । हुन त शरीरकाे एक अंश दुर्बल हुँदा कार्य क्षमतामा अप्ठ्याराे हुन्छ नै तर जीवन नै र पूरा शरिर नै कमजाेर, विचरा वा अर्थहीन हुँदैन । यदी नियालेर हेर्ने हाे भने आशादु बाहेकाका हरेक व्यक्तिमा पनि कमजाेरि हुन्छ नै ।
आशादु लेखन के हाेे ?
समाजमा रहेका दलित, महिला, सर्वहारा लगायत अन्य कमजाेर र अल्पसंख्याक समुदायलाई मूल भूमिका दिई धेरै लेखनहरु गरिएका छन् र गरिदै पनि छ । तर आशादुहरु खासै मूल चरित्रमा देखिदैनन् चाहे नायक वा खलनायक नै किन नहाेस् । यसकाे कारण के समाजमा रहेकै साेच हाे त ? लेखिएता पनि दयाकाे पात्रकाे रुपमा वा विचरा भनी चित्रण गरिन्छ । याे त अन्याय हाे । के आशादु भएका व्यक्ति बाहेकका अन्य व्यक्तिकाे जीवन चहिँ विचरा वा दयाकाे रुपमा रहेकाे हुन्न र ? तसर्थ आशादु भएका व्यक्तिहरुकाे पनि आफ्नै जीवन धार हुने भएकाेले लेखन वा कलाका अन्य पक्षमा मूल चरित्रमा आनु पर्छ भन्ने मान्यता आशादु लेखनले राख्छ । उनीहरु लेखनमा व्यपारि, हत्यारा, स्वतन्त्रता सेनानी , शिक्षक, ठग वा बलात्कारि जस्ताे पनि भूमिकामा देखिन सक्छन् नकि विचरा र दयाकाे पात्रकाे रुपमा मात्र चित्रण गरिन्न् । यश लेखनले पात्र आशादु भएकाे व्यक्ति हाे भनेर केवल परिचय दिन्छ त्याे पनि एक पटक मात्र र बारम्बार दाेहाेराउदैन तर उसकाे जीवन र जीवनकाे आधार कमजाेर, दु:खि, दया, पीडित, अपहेलित आदि भनी चित्रण गर्दैन जसरि लङ्गडाकाे साथीमा गरिन्छ । ऊ कक्षामा पढाइ रहेकाे पनि हुन सक्छ वा बाटाेमा कसैलाई जिस्काईरहेकाे, या कसैकाे जीवन बचाईरहेकाे हुन सक्छ अथवा हत्या गर्दै गरेकाे अनि ठग्दै गरेकाे पनि हुन सक्छ । यसरी आशादु भएका व्यक्ति केवल दयाकाे पात्र मात्र हैन र हुनु हुन्न भन्ने मान्यता राख्छ यश लेखनले । आशादु लेखनले कलाका अन्य पक्ष जस्तै, अभिनयलगायत अन्य क्षेत्रलाई समेट्न चाहन्छ ।

Comments
Post a Comment
Thank you. I am pleased to hear from you. Please keep motivating me.