स्वप्निल स्मृति;किरात बारेमा
सर्वप्रथम यो कुरामा हामी स्पष्ट हुनुपर्छ कि नेपालमा वैकल्पिक इतिहास लेखनको शुरुवात इमानसिंह चेम्जोङबाट शुरु भएको हो। संस्थापन पक्षधर खसआर्यको पनि राजामहाराजाको मात्र वंशावलीमा आधारित इतिहास लेखन भइरहेको परिप्रेक्ष्यमा इमानसिंह चेम्जोङले पूर्वमा रहेका किरात, त्यसमा पनि राई, लिम्बु, याक्खा, धिमाल, सुनुवार आदिको इतिहास लेखनमा जुन शुरुवात कार्य गरे, त्यो तत्कालीन समयसन्दर्भमा हेर्दा जातीय अस्तित्व चेतनाको उन्नत उपज मान्नै पर्ने हुन्छ। मानिँदै आएको पनि छ। अहिले इतिहास, मुन्धुममाथि काम गरिरहनुभएका जति पनि स्कोलरहरु छन्, वैरागी काइँला, अर्जुन माबोहाङ या अन्य। उहाँहरुको सन्दर्भश्रोत पनि इमानसिंह चेम्जोङका पुस्तकहरु नै हुन् अथवा इमानसिंहले मुख्य सन्दर्भश्रोतको रुपमा उपयोग गरेको इण्डियन लाइब्रेरीका हज्सन पाण्डुलिपि नै हुन् । वैरागी काइँला मुलतः मुन्धुममा केन्द्रित छन् । यो भनेको प्राग्ऐतिहासिक, मिथकीय कुरा हो अथवा लोक साहित्य हो । इतिहास भनेको सत्य, तथ्य घटनामा आधारित सापेक्षतः आधुनिक दस्तावेज हो। किरात समुदाय र खसआर्यबीच यस भारतीय उपमहाद्वीपमा परस्पर साहचार्य भएको महाभारतमा किरात उल्लेख हुनुबाटै पाँच हजार वर्षअघि नै भएको देखिन्छ । मोहेन्जोदाडो र हरप्पाको उत्खननका क्रममा किरात संस्कृतिजनित अवशेषहरु फेला परेको भनिएको छ, यसले के दर्शाउँछ भने भारतीय उपमहाद्वीपमा खसआर्यहरु आउन अघि नै किरातहरु थिए । काठमाडौं उपत्यकामा किरातहरुले पहिले शासन गरेको इतिहास त भइहाल्यो। अलिहे लिम्बुहरु किरात होइनन् भन्ने जुन डिस्कोर्स आएको छ, यसमा हामीले मिहिन ढंगले हेर्नुपर्ने हुन्छ। इमानसिंहले लिम्बुवानमा किरात लिम्बुहरुको आगमन, पश्चिम, पूर्व र दक्षिणपूर्वबाट आएको जुन इतिहास लेखेका छन् त्यो सही नै देखिन्छ । मुन्धुमको हवाला दिँदै अहिले लिम्बु इतिहासलाई जसरी फक्ताङलुङ (कुम्भकर्ण) हिमाल सेरोफेरो पु¥याउने र फक्ताङलुङ (कुम्भकर्ण) सेरोफेरोमै लिम्बु मानवजातिको उत्पत्ति भएको दलील पेश गरिँदैछ त्यो बस्तुसंगत छैन । हामीले बुझ्नै पर्ने के हो भने लिम्बु जातिका रुपमा भाषा, संस्कृति, भूमि र मनोविज्ञानका आधारले पछि मात्र विकास भएको या एक भएको हो । अहिले लिम्बु भनिएकाहरुको भिन्न भिन्न वंशावली, भिन्न भिन्न आगमन समयले त्यै संकेत गर्छ । त्योभन्दा अघिको पहिचान याक्थुङ्बा हो । याक्थुङ्बाको मात्र सन्दर्भमा गइयो भने अहिले लिम्बु कहलिएका धेरै थर, उपथरका लिम्बुहरु अट्नलाई गार्हो हुन्छ किनभने उनीहरु समयक्रममा भैयाद भएर, चोक्फुङ भएर, थुप्रै थोक भएर लिम्बुमा संघुलन भएका छन् । लिम्बु जातिको सन्दर्भमा मात्र नभएर अरु जातिको सन्दर्भमा पनि जाति विकास हुने प्रक्रिया यै हो । अब अर्को पाटो, लिम्बु र हिन्दू सभ्यताबीच, मूल्य, मान्यताहरुको आदानप्रदान ठ्याक्कै इतिहासकै कुरा गर्ने हो भने सेन वंशकालदेखि नै थियो भन्ने विभिन्न् लालमोहरहरुले प्रष्ट पारेका छन् । त्यसैले इमानसिंह चेम्जोङले संकलन गरेको किरात मुन्धुम खाहुन्मा हिन्दूमतको प्रभाव पाइनु स्वभाविक हो । अब आएर त्यसलाई मुन्धुमको आधारमा खुट्याउन आवश्यक छ तर यसको अर्थ इतिहासलाई मुन्धुममा लगेर टक्साउने हो भने फेरि पनि त्यो इतिहास वैज्ञानिक, मानवशास्त्रीय, समाजशास्त्रीय हुँदैन फगत् मुन्धुममै गएर टाक्सिन्छ। अहिले हामीले व्यापक फराकिलो भएर अध्ययनलाई अगाडि बढाउन आवश्यक छ।
Comments
Post a Comment
Thank you. I am pleased to hear from you. Please keep motivating me.