हाच्छ्युँ



'हाच्छ्युँ'

हाच्छ्युँ~~~
हाच्छ्युँ~~~

एक हाच्छ्युँ नजिक-
नाकाम बन्यो हजारौं किलोग्रामको -तिम्रो मिसायल

हाच्छ्युँहरु पनि-
मस्जिद
गिर्जाघर
ह्वाइट हाउस
र, बकिङ्हाम प्यालेस -सहजै छिर्दो रहेछ

तर, तिमी त
मानवको कत्लेआम गर्दै, मानवताकै निम्ती
टिएनटी
सायक्लोनाइट
मिथेलाइन धूलो लगायत मिश्रणको यौगिक निकाल्दै
हाच्छ्युँहरुको विरुद्ध
प्रक्षेपण गरिरहन्थ्यौ नि ? -अनेकन ब्यालेष्टिकहरु

यद्यपि,
धर्ती नै कम्पन गर्ने
आवाज जस्तै द्रुत उड्ने
जे भेट्यो सबै पड्काउने -तिम्रो रसायनभन्दा
विषालु हुँदो रैछ है ? -एक दमित हाच्छ्युँ

अब, पनि
द ह्वाइट हाउस
र, बकिङ्हाम प्यालेसको छानोहरुमा
घाम टाँसिएन भने-
म ! दीर्घरोगी हाच्छ्युँ
फक्ताङ्लुङ्ग पहाडको चुचुरोबाट
झन् झन् 
झन् झन् 
झन् झन् 
निर्विघ्न दोहोर्‍याइ रहन्छु-

हाच्छ्युँ~~~~
हाच्छ्युँ~~~~
हाच्छ्युँ~~~~
   ••

Comments